रोग–भ्रमका लक्षण र कारणहरु

प्राय, जसो व्यक्तिहरु आफनो कमजोर स्वास्थ्यलाई लिएर चिन्तित देखिन्छन् । यस्तो चिन्तागर्नु स्वभाविक पनि देखिन्छ । तर कहिले कहिं व्याक्तिहरु सामान्य स्वास्थ्यप्रति पनि अत्यधिक चिन्तित देखिन्छन् । यो एक प्रकारको मानसिक रोग हो । यस रोगबाट ग्रसित ब्यक्तिको मन तथा ध्यान अनेक प्रकारको आधारहीन तथा काल्पनिक मनोविकारद्वारा घेरिएको हुन्छ ।

यस्तो ब्यक्ति निरन्तर एक प्रकारले बाध्यरुपमा नै आफ्नो स्वास्थ्यका सम्बन्धमा अत्यन्त सचेत रहने, आशंका गर्ने, दुश्चिन्ताको भाव अभिब्यक्त गर्ने देखिन्छ । उसको चिन्ता प्रतिक्रिया जस्तो न भइ केवल आफ्नो शारीरिक स्वास्थ्य र शारीरिक रोगहरुको लक्षणहरु जान्ने, संझने र त्यसको यथासंभव उपचार गराउनेसम्म नै सिमित रहन्छ ।

आफ्नो शारिरीक स्वास्थ्य तथा शारीरिक अगंहरुको सम्बन्धमा ब्यक्तिले अत्यन्त चिन्ता गर्न थाल्छन् । त्यस्ता ब्यक्तिलाई अतिस्वास्थ्य चिन्ता (मन स्तापी) रोग भ्रमबाट ग्रसित ब्यक्ति भनिन्छ । यस रोगबाट पीडित ब्यक्तिलाई कुनै प्रकारको रोग नभए पनि उसलाई यस्तो लाग्छ कि ‘म बिरामी छु ।’ मलाई निको नहुने कुनै भयानक रोग छ, अब चाडै नै माथि गईन्छ । यस्तो कल्पना त्यस्ता व्यक्तिले गर्दछन् । यसैकरण उसको स्वास्थ दिनप्रति दिन खराब हुँदै जान्छ ।

यस प्रकारको नाकारात्मक सोचको कारण उसले आफु भित्र मानसिक रोग पालिरहेको हुन्छ र दुखित रहन्छ । यस प्रकारको नकारात्मक सोच या कल्पनालाई नै रोग भ्रम भन्दछौं । यसलाई मेडिकल भाषामा ‘हाईपोकान्ड्रिया अर्थात अतिस्वास्थ्य चिन्ता’ भनिन्छ ।

लक्षण : यस रोगबाट पीडित रोगीमा आफ्नो स्वास्थ्यलाई लिएर मानसिक चिन्ता त रहन्छ नै तर यसको साथै रोगीले अनेक प्रकारका शारीरिक कष्टहरुको पनि वर्णन गर्दछ । जस्तै, पेट फुल्नु, कब्जियत हुनु, ग्याष्ट्रिकको समस्या हुनु, पातलो दिशा लाग्नु, असामान्य रुपमा भोक लाग्नु र कहिले भोक न लाग्नु, कम्मर दुख्नु, छाति दुख्नु, गुप्तांगमा पनि बिचित्र किसिमको संवेदना हुनु, यौन चाहना नहुनु आदि ।

उसलाई कुनै पुरानो रोग या कुनै निको नहुने भयानक रोग लागेको रहेछ । वारम्बार रोगको बारेमा सोचेर चिन्तित हुन्छ, जसको कारणले गर्दा मुटुको धड्कन अनियमित रुपमा धड्किन थाल्छ । उसको रोग एउटा अंगबाट अर्को अगंमा स्थानान्तर भईरहन्छ । यस प्रकारको लक्षण भएपछि रोगीलाई पुर्णरुपले विश्वास भइहाल्छ कि कुनै न कुनै भयानक रोग भएको छ । अनेक प्रकारका उपचार गराउने, आफ्नो रोगप्रति चिकित्सकसंग ज्यादै बहस गर्ने, आफ्नो रोग बारेमा बढाई चढाईकन चिकित्सकलाई भन्ने, प्याथलोजिकल परीक्षणमा कुनै भई खराबी नदेखिने । यिनीहरु कुनै रोगद्वारा पीडित हुदैनन् । तरपनि यिनीहरुलाई यस्तो भान हुन्छ कि मलाई निको नै नहुने रोग लागेको छ ।

कारण : यो रोगमा शारीरिक लक्षणहरु प्रशस्त देखिए तापनि कारण भने शारीरिक नभई प्राय, मनोजन्य नै हुन्छ । आमा-बाबुमा मनस्ताप लक्षणहरु देखिनु, आमाबाबुद्वारा बालकको स्वास्थ्य सम्बन्धमा बढी चिन्ता लिनु, बाल्यकालमा कुनै भयंकर रोगबाट पीडित हुनु, गहिरो घातक चोटपटक लाग्नु आदि यो रोगको पुर्वनिहित कारणको रुपमा लिन सकिन्छ । अन्य कारणहरुमा कुनै अप्रिय दुखद घटना हुनु, आलस्य, विलासिता, लिबरको कुनै रोगबाट पीडित हुनु, चिकित्सा सम्बन्धि किताव पढ्नु, आफ्नो रोगबारे गुगुलमा सर्च गरी पढनु, पत्रपत्रिकाका स्वास्थ्य सम्बन्धि लेखहरु पढ्नु, कटिंग गरेर राख्नु आदि पनि यसका कारण हुन् । यसरी रोगहरुको बारेमा पढेर नकारात्मक कल्पना गर्नले यो रोग हुन्छ ।

होमियोप्याथीक उपचार : कुनै पनि रोगको उपचार गर्दा रोगीको मानसिक एवं शारीरिक लक्षणहरुलाई मध्येनजर राखेर नै रोगीको उपचार गर्ने प्रावधान रहेकोछ । यस रोगमा लक्षणानुसार प्रयोग हुने केहि औषधिहरु छन् ।

औषधिहरु : नक्स वोमिका, ईग्नेशिया, आरम म्युर, नेटृम म्युर, प्लाटिना, कोनियम, आर्सेनिक एलब, हायोसायमस, बेलेरियाना, थुजा, वेरेट्रम एलब, मस्कस, लेकेकेनम, आरजेन्टम नाईटिकम, सिमिसिफ्युगा, कल्केरिया कार्ब, सल्फर, कालिफोस, नेटृमफोस आदि ।

नोट : यो लेखले कुनै चिकित्सकको ठाउँ लिन सक्दैन । रोगभ्रम नामक रोगबारे संक्षिप्तमा जानकारी दिन खोजेको मात्र हो । अत: यहाँ उल्लेख गरिएका औषधिहरु कुनै होमियोप्याथिक फार्मेसीबाट किनेर स्वयं प्रयोग गर्ने वा गराउने नगर्नु होला । उपरोक्त उल्लेखित औषधिहरुको प्रयोग आफ्नो नजदिकका कुनै योग्य तथा अनुभवि होमियोप्याथिक चिकित्सकसंग परामर्श गरी सेवन गर्दा उपयुक्त हुने छ ।
अस्तु ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.