–आनन्दराम पौडेल
२०५१ सालमा एमालेले ९ महिना सरकार चलायो । तर, त्यो अल्पमतको सरकार थियो । अल्पमतको सरकार भएरपनि त्यो सरकारले धेरै सकारात्मक काम गरेर छाप छोड्न सफल भएको थियो । त्यसो हुनुको कारण पनि थियो । पार्टी सङ्गठन, अनुशासन र परिचालन उदाहरणीय थियो । देश र जनताको लागि रचनात्मक, सृजनात्मक काम गरेर पार्टीलाइ स्थापित गरिछाड्ने हुटहुटि थियो । पार्टीको माथिदेखि तलसम्म सबैको एउटै सोच, स्पिरिट, बाटो र दिशा थियो । तर, अहिले पनि नेकपाकै सरकार छ । अल्पमतको हैन, आफ्नै पार्टीको वहुमत छ र सरकार त अझ दुईतिहाईको छ । २०५१ सालमा अल्पमतको सरकार हुँदा त प्रभाव छाड्न सफल भएको नेकपाले अहिले दुईतिहाईको सरकार हुँदा झन प्रभावपूर्ण कार्य गर्ला भनेर आशा, विश्वास गरेका जनतालाइ यो सरकारले उल्टै निराशाको गोलखाडीमा जाकिदिएको छ।
तीन महिनाअघि विश्व बैंकले प्रकाशित गरेको ‘डोइङ ब्युजिनेश’ प्रतिवेदनमा नेपाल अघिल्लो सालभन्दा ५ स्टेप तल झरेको छ । ‘डोइङ ब्युजिनेश’ भन्नाले उद्योग–ब्यवसायको लागि अनुकूल वा प्रतिकूल स्थितिको आँकलन हो । विश्व बैंकले नै ३ महिनाअघि प्रकाशित गरेको अर्को प्रतिवेदन ‘नेपाल अपडेट’ मा, “नेपालमा उत्पादकत्व घट्दै गएको र ब्यापारघाटा कहालि लाग्दो गरि बढेकोले यस्ले नेपालको अर्थतन्त्रलाई भयावह स्थितिमा पु¥याउने” भनेर गहीरो चिन्ता जाहेर गरेको छ ।
केपी ओली नेतृत्वको सरकार बनिरहँदा हामी अकिञ्चन जनताले के अपेक्षा गरेका थियौं भने ३ बर्षअघि पनामा पेपर्सले सार्वजनिक गरेका नेपाली आर्थिक–माफीयाहरुलाई छानबिन–अनुसन्धानको दायरामा ल्याउने छ । स्वीस बैंकले सार्वजनिक गरेको बिवरण अनुसार स्वीस बैंकमा अवैध, कालो धन थुपार्नेहरुमा नेपालीहरु पनि रहेछन्। यो सरकारले तिनीहरुको नाम–नामेसि पत्ता लगाउने प्रयास गर्नेछ भनेर आशा गरेका थियौं । गर्ने नै होभने, यस्ता गोप्य बिवरण पत्ता लगाउन सक्ने सक्षम संस्थाहरु पनि विश्वमा पाईंदारहेछन्। उद्योगव्यसाय र उत्पादन कार्यमा लाग्नेहरुको लागि सरकार सहजकर्ता बन्ला र सरकारले अनुकुल परिस्थिति निर्माण गर्ला भनेर सोचेका थियौं । सानो उदाहरण दिनुपर्दा, चितवन जिल्ला कुखुरापालन गर्ने (पोल्ट्री) व्यवसायको हब बनेको त देखियो । यो सरकारले पोल्ट्री ब्यवसायलाइ कृषिसँग जोड्ला र कुखुराको दाना बनाउन आवश्यक पर्ने मकै, भटमास, पिनाहरु आयात गर्नुपर्ने स्थितिको अन्त्य गरिदेला भनेर सोचेका थियौं ।
यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी अभियान चलाउला भनेर सोचेका थियौं, तर ठग ठेकेदारहरुलाइ संरक्षण गर्न उद्यत देखियो । यो सरकार आएपछि सुशासन देख्न पाइने छ भनेर सोचेका थियौं । एम्नेष्टी इण्टर्नेशनलले भर्खरै प्रकाशित गरेको प्रतिवेदन अनुसार भ्रष्टाचार मामलामा नेपालमा भ्रष्टाचार दुई स्टेप बढेको छ । सरकारकै संस्था, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जाउलाखेलले ६ महिना लगाएर गरेको सुशासन–सर्वेक्षणको रिपोर्ट तैयार गरेको छ । उक्त सर्वेक्षण अनुसार अधिकांश जनताले, “नेता, शासक र प्रशासकहरुले यो राष्ट्रलाइ ध्वस्त पारे” भनेर प्रतिकृया दिएका छन् र नेता, शासक र प्रशासकप्रति घृणा ओकलेका छन् विकास–निर्माणले गति लेला भनेर सोचेका थियौं, साउन १ गतेदेखिकै मात्र बजेट खर्चको प्रकृति अध्ययन गर्दा विकास–निर्माणमा खर्च हुने पूँजीगत खर्च निराशाजनक छ ।
‘सङ्क्रमणकाल’ शब्द अचाक्लि प्रयोग भैरहेकाले यो शब्द देख्दापनि झिंझो लाग्ने भैसकेको होला । यदि राष्ट्र र समाज गतिशील छ भने त्यो समाज र राष्ट्रका लागि हर क्षण सङ्क्रमणकाल नै हुन्छ । हरेक सङ्क्रमणकालले राष्ट्रिय नायकको माँग गर्छस त्यस्तो नायक जस्लाइ राष्ट्रले स्वीकार गरेको होस् राष्ट्र र समाजले त्यसवेला गति प्राप्त गर्छ जव त्यहाँ रचनात्मक अभिप्रेरणाका तत्वहरु पर्याप्त हुन्छन् समाजको साझा दृष्टिकोण, लक्षचिन्तन र बिचारलाइ बुझेर अख्तियार गर्न खोजेको बाटो र दिशा नायकमार्फत अभिव्यक्त भैरहेको हुन्छ । त्यस्तो नायकले राष्ट्रको मुटु छामेको हुन्छ । र ढुकढुकी चिनेको हुन्छ दक्षिणअफ्रिकामा नेल्शन मण्डेलाले राष्ट्रको ढुकढुकी वुझेका थिए । ब्राजिलमा लुला (इनासियो लुला डा सिल्भा) ले राष्ट्रको नाडी छामेका थिए । पूर्वी टिमोरका सनाना गुजमाओलाइ जनताले आफ्नो बनाइसकेका थिए। भारतमा गान्धीलाइ जनताले आस्थाको केन्द्रमै विराजमान गराए । विहारमा नितिसले रोग कहाँनिर छ भनेर ठम्याए र त्यहीं उपचार शुरु गरे । चीनमा माओत्सेतुङले राष्ट्रको ज्वरो नापेका थिए । एक जमानामा फिलिपिन्स पनि अहिलेको नेपाल जत्तिकै जर्जर भैसकेको थियो । चौतर्र्फी विद्रोहको राँको सल्केको थियो । असुरक्षा र कुशासनले जनता पिल्सिएका र हाहाकार मच्चिएको थियो । यस्तो डावाँडोलको स्थितिमा राजनीतिमा कहिल्यै नदेखिएका रेमोन म्यागसेसेले राष्ट्रलाइ लागेको रोगको लागि औषधि प्रेस्क्राइव गरे । सुशासनको ट्याब्लेट शुरुमा त उनको कुरो कसैले सुनेनन् तर विस्तारै उनका कुरातिर ध्यान दिन थाले । एउटा गैरराजनीतिक व्यक्ति रेमोन म्यागसेसेलाइ जनताले पत्याए र राष्ट्रपतिमा निर्वाचित गरे । मात्र सुशासनमा फोकस रहेर उनले राष्ट्रलाइ वैतरणी पार लगाए । अमेरिकामा जर्ज वासिङ्गटनलाइ जनताले राष्ट्रको अभिभावक ठान्थे। तेश्रो पटकको लागि कर नगर्ने शर्तमा मात्र उहाँले दोश्रोपटक राष्ट्रपति हुन मञ्जुर गरेका थिए । त्यहीबेलादेखि नै अमेरिकामा कुनैपनि ब्यक्ति दुईपटकभन्दा बढी राष्ट्रपति हुन नपाउने थिति वसेको हो ।
अमेरिकामा जर्ज वासिङ्गटनले, “दुईपटक भन्दा बढी राष्ट्रपति नवनौं है” भने, त्यही थिति वस्यो। जुन–जुन देशले थिति वसाउन खोजे र थितिमा चल्न चाहे ती देशको दिन दोगुना रात चौगुना विकास भएको छ । जनता आफैंले मूल्य, पद्दती र अनुशासनमा वस्न खोजे भने संविधान र कानुनले धेरै खट्न नपर्ने रहेछ । वेलायतमा संविधानकै पुस्तक त अहिलेपनि पाईंदैन । द्विशताब्दीदेखि एउटा फुच्चे संविधानलाई मार्गदर्शक मानेर अमेरिका समृद्धी र प्रगतिपथमा लम्किरहेछ । काम गर्नेको लागि दुईतिहाइ नै चाहिने होइन भनेर पाकिस्तानमा अहिले ईमरान खानले प्रष्ट देखाइरहेका छन् ।
कुन देश सिस्टममा चल्न खोज्दैछ, र कुन देश अराजकतामा गैरहेछ सामान्य लक्षणबाटै थाहा हुन्छ । जुन देशका अगुवाले मूल्य मान्यतालाई जीवन पद्धति बनाउन खोज्छन् त्यो राष्ट्र सिस्टममा चल्छ भनेर वुझे हुन्छ । जुन देशका अगुवाले, “संविधानले रोकेको छैन र कानुनले निषेध गरेको छैन” भन्दै स्वार्थपूर्तिको लागि र आफूखुशी गर्न अनेकौं कुतर्क र अपब्याख्या गर्न थाल्छन्, त्यो राष्ट्र अराजकताको गोलखाडीमा धसियो भनेर वुझे हुन्छ । बेडमा श्रीमतिसँग कस्तो व्यवहार गर्नुपर्छ र आमालाइ कसरी श्रद्धा जनाउनुपर्छ त्योपनि संविधान र ऐनकानुनमा लेखिएको हुँदैन । गुरू, पिता, दाजु, काका, मामाहरुलाइ कुन स्थानमा राख्नुपर्छ त्यो पनि संविधानले भन्दैन । कसैको जात, रङ्ग, लिङ्गलाइ प्रयोग गरेर होच्याउने भाषामा च्वास्स विझ्ने गरी वोल्न र लेख्न हुन्छ कि हुँदैन, त्यो पनि सम्विधानले प्रष्ट वुझ्ने गरी वताउँदैन । वेलायतले ऐन कानुन र नियमको दफामा राष्ट्रिय सहमति खोजेन । त्यहाँको न्यायप्रणालिमा परम्परागत चलन केही बर्ष अघिसम्म थियो, जुन ऐन कानुनमा लेखिएको थिएन । अमेरिकाका जनप्रतिनिधिहरु सिनेटभित्र एउटै भेषमा भेटिन्छन्, जुन ऐन कानुनले बाध्य बनाएको थिएन ।
संविधानले र ऐन कानुनलाइ जिम्मा लगाएर मात्रै हुँदैन । जुन राष्ट्र, समाज, समुदाय र व्यक्तिसँग लक्षचिन्तन, सार्थकताको खोजि र उद्देश्य प्रष्ट छैनभने कानुनका डण्डाले ठटाएर मात्र राष्ट्र उँभो लाग्दैन । सपना डढेको, मूल्य निख्रेको र आदर्श हराएको यस्तो समाजमा हामी अहिले वाँचिरहेछौं जस्ले हामीभित्र नत प्यास जगाउँछ, नत कुनै सम्भावना देखाउँछ, नत घच्घच्याउँछ, नत उल्लासित नै पार्छ । हामी नेपालीहरु नपुङ्सक कालखण्डमा निस्क्रिय साक्षी भएर रहेका छौं, जहाँ निसाचरहरु वितण्डा मच्चाईरहेछन् ।

