“ मानव मात्रले आफ्नो सुरक्षा र मूल्य मान्यताको संरक्षण गर्दै समस्त चराचर जगतको कल्याणमा आफूलाई समर्पित गर्नुपर्दछ । ”
जन्मसँगै मृत्यु छ, यो सबैलाई थाहा छ । त्यही जन्म लिएर मृत्युसम्म पर्खिदा हामी जीवनमा विभिन्न कर्म गर्न पुग्छौँ । कर्म गर्दै जाँदा हाम्रो जीवन समाप्त हुन्छ । एकदिन बिलाउँछ । हिजोको परिस्थितिभन्दा आज बेग्लै भइरहेको छ वातावरण । सोही अनुरूप आज मानवले मृत्युलाई छिटै निम्त्याउँदै छ । एकातिर विज्ञानले आविष्कार गरी मृत्युलाई पर सारिरहेको पनि देखिन्छ भने अर्कातिर हामी आफैँले अप्रत्यक्ष रूपमा मृत्युलाई छिटै अँगालीरहेका छौँ । आफ्नै दुर्नियतका कारण मृत्यु निम्त्याउँछौँ कयौँ इच्छा अधुरा हुँदै मरेका छन्, अतृप्ती र अभाव खट्किरहेको छ भने कयौँ असफलताले मानिस बारम्बार मरिरहेको छ वा जिउनको सार्थकता भएको छैन ।
विश्वमा जनसंख्याको चाप दिनानुदिन बढिरहेको छ । प्राकृतिक विनाश भइरहेको, प्रकोप बढ्दै छ । सुन्दर बस्ती मासिइरहेका छन् । वातावरण प्रदूषित बनाउने उद्योग कलकारखाना बढ्ने क्रम जारी छ । यसरी मानवका घर, बस्ती, टोल, बजार, उद्योग कलकारखाना आदिबाट निस्कने फोहोरले विकराल रूप लिएको छ । विभिन्न जैविक र अजैविक फोहोर र हानिकारक वस्तुहरू थुप्रिदै जानाले धर्तीमा प्रदूषण, तापमान वृद्धि, खाद्य असुरक्षालाई हाँक दिइरहेको छ । मानिस दिनानुदिन रोगी बनिरहेको छ भने अर्कातिर प्राकृतिक विनाश भई स्वयम् मानव सभ्यताको पनि ह्रास हुँदै गएको छ । गाउँ, शहर, बस्ती फोहोरको डंगुरले भरिएका छन् । जताततै दुर्गन्धित बन्दै सुन्दरता हराइरहेको छ । हिजोका दिनदेखि नै को राजनैतिक अस्थिरता, दलिय लुछाचुँडीले नीति निर्माणमा कमजोरी हुनु र व्यावहारिकतामा पनि कमजोरी हुनु पनि एक प्रमुख करक तत्व देखिन्छ । जसको फल आज मानव जीवनमा भोग्नु परेको पीडा हो । त्यसैले यसको उचित व्यवस्थापन गरी जोखिमयुक्त परिस्थितिबाट सभ्य, शिष्ट , सुन्दर घर, आँगन, चोक बस्ती निर्माण गर्नु आजको आवश्यकता हो । आज हामी सम्पूर्ण प्राणी आगोको मुस्लोमा छिचिमिराझैँ जलिरहेकाछौँ । हाम्रो कुनै दूर लक्ष्य बिना नै बाटो हिँडिरहेकाछौँ । हामी कार्ययोजना, पद्धति, नियमविना विभिन्न कामको अपेक्षा राख्छौँ ।
यसैले गर्दा निरुदेश्य दिशाहिन गन्तव्य रोजेर हिँड्नाले समय व्यर्थमा खर्चिएर महामूर्ख बनिरहेकाछौँ । त्यसैले अबका दिनमा व्यवहारमा परिवर्तन ल्याउनु जरुरी छ । प्रत्येक व्यक्तिले आ आफ्नो घर कोठादेखिको फोहोर व्यवस्थापन गर्न नसक्नाले नीलो स्वच्छ बग्ने नदीमा विषाक्तता फैलिएको छ । घरका ढलबाट निस्केका दिशापिसाप मिसिएका मलमूत्र, पशुका हड्डी, जुत्ता चप्पल, सिसा, प्लास्टिकका सामान सम्पूर्ण उपभोग्य वस्तुको व्यवस्थापन गर्न नसक्दा धर्तीमा मानव अस्तित्व संकटमा परेको छ । त्यसैले घरबाट निस्कने फोहोरलाई जथाभावी नफाली सोच विचार गरी विभिन्न तरिका अपनाइ व्यवस्थापन गरेमा मानवीय मूल्य र मान्यता बढ्दै जानेछ । यसको लागि कस्ता किसिमका फोहोर हुन् पहिले छुट्याउनुपर्छ । पुन नविकरण गर्न मिल्ने फोहोरलाई मर्मत गराएर पुन उपयोग गर्नुपर्छ । विभिन्न कम्पोष्ट मल बनाउने व्यवस्थाको विकास गर्नुपर्छ । जमिनमा नपच्चे अथवा खतरा खालका फोहोरबाट सुरक्षित रहनका लागि त्यस्ता फोहोरलाई सुरक्षित तवरबाट जनिममा गाड्नु पर्ने वा जलाउनुपर्ने हुन सक्छ । यसरी जैविक अजैवीक के कस्ता फोहोर हुन् तिनको प्रकृति अनुसार छुट्याएर राखी सोही तरिकाबाट व्यवस्थापन गर्नुपर्दछ । फोहोरका प्रकृतिअनुसार कुनै मल बनाउने, कुनै प्लास्टिकको झोलामा राखी सम्बन्धित निकायमा जिम्मा लगाउनु पर्दछ ।
यस ब्रह्माण्डमा असंख्य बोटबिरुवाका साथै, विभिन्न प्राणीहरूको शृङ्खलामा मानव नै सर्वश्रेष्ठ चेतनशील प्राणी हो । चेतनाको प्रसारणको कारण हरेक मानव क्रियाशील बनी मानव सभ्यताको सिढी क्रमशः माथि उठाउनु आजको आवश्यकता हो । मानव मात्रले आफ्नो सुरक्षा र मूल्य मान्यताको संरक्षण गर्दै समस्त चराचर जगतको कल्याणमा आफूलाई समर्पित गर्नुपर्दछ । प्रकृतिमा उपलब्ध हरेक चीजहरू हाम्रै भलाइका सृष्टि भएकाले सबैले प्रकृति र मानवको संरक्षणमा आफूलाई समर्पण गरी जीवन रक्षागर्न प्रयत्नशील हुनुपर्दछ । प्रकृति हामी सबैको साझा घर भएकाले यसको विरुद्धमा फोहोरको अव्यवस्थित संक्रमणले प्राकृतिक प्रकोपको सामना खप्नु पर्ने हुन्छ । यसैले समस्त मानव जगतले प्रकृतिको पूजाको लागि फोहोरको उचित व्यवस्थापन गर्न सकेमा मानव चोला सार्थक बन्न सक्छ । सार्थक मानवबाट मात्र युग परिवर्तन भइ कुशल व्यवस्थापनको आशा गर्न सकिन्छ । साभारः सहकार्य मासिक पत्रिकामा प्रकाशित सुभद्र दाहालकी विचार

