माघ १७, काठमाडौं । बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको निर्माण गरिरहेको इटालियन ठेकेदार कम्पनी सीएमसीसँग सरकार वार्ता गर्न सहमत भएको छ ।
सरकारले इटलीको ठेकेदार कम्पनी सीएमसीलाई समयमै काम सक्न निर्देशन दिए पछि कम्पनीले ठेक्का रद्द गर्ने सुचना दिएको थियो । उक्त निर्देशनको वेवास्ता गर्ने कम्पनीका ८ जना प्रतिनिधि र कर्मचारीहरुलाई नेपाल नछोड्न भन्दै राहदानी नियन्त्रणमा लिएको थियो । प्रमुख म्यानेजर क्रिस्टियानो ग्रेको सहित ८ जनाको टोली क्रिसमस मनाउन भन्दै स्वदेश फर्किएका इटालियन कम्पनीका कर्मचारीहरु गत मंसिर २९ गते पछि आयोजना स्थल छोडेका थिए । तत्पश्चात उनीहरुबाट जफत गरिएको राहदानी सरकारले फिर्ता गर्दै स्वदेश जाने अनुमति दिएको थियो ।
खानेपानी आयोजना निर्माण कार्य रोकेको ठेकेदार कम्पनी सीएमसी नेपाल नफर्किए पछि सरकारले बारम्बार सम्झौता अनुसारको काम गर्न अनुरोध गरेको थियो । सरकारले माघ ३० गते सम्मको समय सिमा राखेर पूर्नविचार गर्नका लागि पत्र लेखेपछि सीएमसी कम्पनी थाइल्याण्डमा वार्ता गर्न तयार भएको हो । उक्त कम्पनीले वार्ता नेपालमा नगर्ने र सिंगापुरमा गर्ने अडान लिए पछि सरकार थाइल्याण्डमा वार्ता गर्न सहमत भएको हो । उक्त कम्पनीसँग वार्ता गर्न नेपाली टोली यहि साता भित्र थाइल्याण्ड जाने स्रोतले जनाएको छ ।

