माघ १४, बर्दिवास । काममा लगन र समर्पण भएपछि कमाउन विदेश जानु पर्दैन भन्ने उदाहरण बोका छन् महोत्तरीको बर्दिवास नगरपालिका–२ हङकङ डाँडाका दीपक भुजेल । बाली नसप्रिने गेगर्यान जग्गामा ४५ वर्षीय भुजेलले १० टनेलमा च्याउखेती गर्दै आएका छन् ।
दुई वर्ष अघिसम्म भुजेललाई घरखर्च कसरी चलाउने भन्ने चिन्ता हुन्थ्यो । घरखर्चका लागि उहाँ अब आफ्नो व्यवसायप्रति ढुक्क छन् । च्याउखेतीका कारण अहिले उनले नाम र दाम पाउनु भएको छ । “च्याउखेती गरेदेखि कुनै कुराको अभाव खट्केको छैन,” भुजेल भन्छन् । दुई वर्षअघि कामको खोजीमा काठमाडौँ पुगेका भुजेलले ललितपुरको गोदावरी–१४ ठैबमा च्याउखेती गरेको देखेपछि यस व्यवसाय हात हालेका हुन् ।
“छोराछोरीको पढाइ खर्च यसैबाट धानेको छु, घरको खर्च राम्रैसँग चलेको छ,” उनले भने, “वार्षिक रु पाँच लाखसम्म बचत हुन्छ ।” दश टनेलमा राखिएका तीन हजार २१२ पोकामा अहिले दैनिक ७०० किलो च्याउ उत्पादन हुने गरेको छ । भुसको पोका राखेर कैयौं पटक उत्पादन लिन सकिने भुजेल बताउँछन् । उनले टिसुकल्चर, ठोडिटा, ८३५, ५३ सहितका जातको च्याउखेती गर्दै आएका छन् । च्याउ खरिद गर्न व्यापारी घरमै आउने गरेका छन् । प्रतिकिलो रु १५० मा च्याउ बिक्री गर्दै आएको भुजेलले बताए । पराल, पानी राख्ने ड्रम, पराल काट्ने औजार र परालको भुसलाई पोको पारी च्याउखेती गर्न सकिन्छ । रासस

