सीप प्रमाणिकरणको लागि १५० जनाको मात्रै निवेदन, बाँकीले पुस मसान्तसम्म निवेदन दिन सक्ने

पुस २४, काठमाडौं । विदेशबाट फर्किएका १५० जनाले सीप प्रमाणिकरणका लागि निवेदन दिएका छन् ।

यो आर्थिक वर्षमा विदेशबाट सीप आर्जन गरेर फर्किएका एक हजार जनाको सीप प्रमाणिकरण गर्ने सरकारको लक्ष्य रहे पनि मंगलबारसम्म जम्मा १५० जनाले मात्रै निवेदन दिएका वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । गएको मंसिरमा विदेशबाट फर्किएका युवालाई सीप प्रमाणिकरणका लागि निवेदन दिन सरकारले आह्वान गरेको थियो । एक महिनाको समय दिएर निवेदन आह्वान गरे पनि फेरि समय थप्दै निवेदनका लागि पुस मसान्तसम्मको समय दिइएको छ । सरकारले २० वटा पेशाकोे प्रमाणिकरण गर्दैछ । त्यसमा विल्डिङ पेन्टर, सटरिङ कार्पेन्ट्री, असिस्टेन्ट व्युटिसियन, हाउसकिपिङ क्लिनर, रेफ्रिजेरेसन एण्ड एअर कण्डिसन जुनियर मेकानिक्स, एक्साभेटर अपरेटर, फर्निचर मेकर, स्टोन लेयर मेशन डकर्मी, असिस्टेन्ट वेटर र आर्क वेल्डरको सीप समेटिएको छ ।

त्यसैगरी स्टक्चरल फेब्रिकेटर, जुनियर प्लम्बर, विल्डिङ इलेक्ट्रिसियन, आल्मुनियम फेब्रिकेटर, सेक्युरिटी गार्ड, स्काप फोल्डर, इन्ड्रस्टियल इलेक्ट्रसियन, कमि तेस्रो र टेलरिङ पेशाको सीप प्रमाणिकरण समितिले गर्ने छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सीप प्रमाणिकरणको जिम्मा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, राष्ट्रिय सीप परीक्षण समितिलाई दिएको छ । समितिले नै फारम संकलन तथा सीप परीक्षण र प्रमाणिकरण गराउने छ । विदेशबाट सीप सिकेर फर्किएका र सीप परीक्षण गराउन चाहने व्यक्तिले राष्ट्रिय सीप परीक्षण समितिको वेवसाइट तथा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको वेवसाइटबाट फारम डाउनलोड गरेर पुस मसान्तसम्म निवेदन दिन सकिन्छ । समितिबाट यसरी सीप प्रमाणिकरण गराउँदा र फारम भर्दा कुनै पनि शुल्क नलाग्ने बोर्डले जनाएको छ । सीप प्रमाणिकरणका लागि सातै प्रदेशमा केन्द्रहरु तोकिएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.