नेपालीका खप्परमा स्वावलम्बन कहिल्यै रहेन ।
सगरमाथाकै काखमा रहेर पनि आत्म सम्मानको उचाइ कहिल्यै देखिएन ।
एक शताब्दी अघिसम्म देशमा दासप्रथा नै जीवन्त थियो । देशभित्रै केही मालिक र हजारौँ दास थिए । आज देशको कानुनका खोस्टामा जे लेखिए पनि दासका रुपमा विश्वभर यही जाति पैmलिइरहेको छ । विश्वका भाँडा सुकिला बनाइरहेछ, गाडी र मार्वल पुछिरहेछ, वाथरुम सफा गरिरहेछ, कपडा धोइरहेछ । सारा अरुले गर्न घिनाएका र ह्याएका काम हाँसीहाँसी गरिरहेछ । उता विश्वले स्वस्थ्य र उर्जावान् मजदुर सस्तो मूल्यमा पाइराखेको छ । यता देश रित्तो खोक्रो र असफल बाटामा ओरालो झरिरहेछ । देश देश नभई स्लेभ इन्डस्ट्री बन्दैछ । सगरमाथाको देश, बुघको देश, वीरको देश, पशुपतिको देश, कृषिको देश र पानीको देश त्यसो नभई स्लेभको देश बन्दैछ । हामी त्यसैमा गौरव गरिरहे छौँ । कहिले लाहुरेका नाममा, कहिले मजदुरका नामममा र कहिले डिभी पार्ने भाग्यमानीका नाममा ।
वर्तमान नेपाली समाजको मानसिकतामा विदेशमा पैसा फल्ने बोट नै छ । त्यस बोटमा जति पनि पैसा टिप्न पाइन्छ । विदेश जानेले सजिलै पैसा कमाउँछ । मोवायल, ल्यापटप र सुन सस्तैमा र अझ सित्तैमा पाउँछ । यो घरका सन्तान पनि विदेश छन् त्यो घरका सन्तान पनि विदेश छन् । त्यो गाउँका युवा पनि विदेश छन् यो गाउँका युवा पनि विदेश छन् । लाग्छ स्वदेश कोही छैनन् । केही बुढाबुढी विदेश जान नसकेका र नपाएका महिला र केटाकेटी मात्र छन् एयरपोर्टबाट दैनिक झन्डै हजारको संख्यामा नेपालीहरु हरियो पासपोर्ट बोकेर बहिरिइरहेका छन् । अनेक सपना सजाउँदै बाबुको घरबारी बेचेर होस् वा बन्दकी पारेर, लैनो भैसी बेचेर होस् वा सयकडा पाँच रुपैँयाको महँगो ऋण काढेर । निरन्तर उडिरहेछन् उडिरहेछन् । पढेलेखेका आफैँ अर्काका मुलुकमा पुगिरहेछन् । सोझासाझा दलालका पकेट भरेर विश्वमा छरिएका छन् र देशको दास मनोवृत्तिको प्रचार गरिरहेका छन् । यता राज्य यसै बाटाका मतियार निजी संस्था, कन्सलटेन्सी, म्यानपावर, र विदेशी संस्थाहरुलाई प्रश्रय दिइरहेछ ।
यस लेखमा जानेर, नजानेर, बाध्यताले वा रहरले विदेसिएका मजदुर दाजुभाइ दिदी बहिनीको अपमान गर्न खोजिएको होइन । उहाँहरु दास बन्न नभइ राज्यले नदिएको अवसर खोज्न भौतारिनु भएको हो । कसलाई आफ्नै मुलुकमा सानको जीवन परिवारसँगै बसेर बिताउने रहर नहोला ?कसलाई आफ्नै माटोमा केही गरी खाने खोख नहोला । हो,निम्नवर्गीय परिवारलाई वैदेसिक रोजगारीले केही राहत नै दियो । स्वदेशमा पैसाको मुखै नदेख्ने छोराछोरीले केही पैसा देखे र विदेश पनि देखे तर यसले न परिवारलाई फाइदा गर्न सक्योे न देशलाई नै । यहाँ दैनिकहजार युवा जनशक्ति विदेशीहरुको दास बनिरहेको पीडा मात्र छैन । यहाँ फर्कनेहरुको अबस्था झन् कहाली लाग्दो बनिरहेछ । दैनिक पाँच ओटा होनाहार युवाहरुबाकसमा प्याक भएर आइरहेका छन् ।उनीहरु आफ्नो स्वस्थ्य शरीर परीक्षण गरी गरी काममा लदाउने त्यस मुलुकमा म मरेँ भने गाड्ने जमिन छैन भन्ने थाहा नपाई बाकसमा प्याक भइरहेछन् । उनीहरुलाई कर्मभूमिमा गाड्ने एक शरीर माटो र पोल्ने एक काँटी सलाई पनि छैन । लासै स्वदेश आएको कुराबारे सबै परिचितै छन् । यसको पीडामा परिवार परिवारमा फैलिएको अभिघातको परिणाम पूर्ण रुपले बाहिर आइसकेको छैन । यसको परिणामको मूल्य चुकाउन राज्यले ठूलै खर्च गर्नुपर्ने छ ।
यहाँ लासको मात्र कुरा छैन । दैनिक दश जनाजति होनाहार छोराछोरी असुरक्षित काम गर्दा घाइते बनेर फर्किइरहेछन् । दर्जनौँ विकलाङग बनेर फर्किइरहेका छन् र गरिब राज्यको अपाङ्गभत्ता बुझिरहेछन् । करिब दशै जना भाषा, पारिवारिक वियोगका अभिघात, शैक्षिक जटिलता, अपमानबोध, यौनशोषण, श्रम शोषण आदिका कारण मानसिक रोगीका रुपमा फर्किइरहेका छन् । एउटै कोठमा तीस चालिस जना युवाहररुलाई कोचेर राख्ने, पोषिलो खानेकुरा नदिने, वातावरण अनुकूलको लत्ता कपडा नदिने कम्पनीका कामदार कति दीर्घ रोगी र कमजोर बनेर फर्किरहेछन्।अरु फर्कने युवाहरुले के कति सरुवा रोग र दीर्घ रोग लिएर फर्कँदैछन् त्यसको लेखाजोखा छैन । भोलि देशले रेमिट्यान्सका रुपमा उठाएको रकमले यी सबै पक्षको क्षतिपूर्ति भर्न सक्ने देखिँदैन । तिनका सन्तानका थाप्लामा अझै ऋण थपिनुबाहेक केही भएको छैन ।
वैदेसिक रोजगारीले परिवारमा पारेको असर कसैले देखेको छैन । बूढा भएका बाबुआमा छोराको बाटो हेर्दाहेर्दै मरिसक्छन् । भाडाका मलामी र किरियापुत्री खोज्नु पर्ने सम्मको सांस्कृतिक विचलन विकास भइसकेको छ । विदेसिएका युवकका प्रतीक्षामा रहेका प्रेमिकाहरुको कता कता विवाह भइसक्छ । विहे गरेका युवायुवतीकिो कथाव्यथा अर्कै छ । गरेको महिना दिनर हप्ता दिनमै विदेसिने युवक र यता युवाका घरमा भित्रिएकी युवतीका जीवनका निजी समस्याहरु कसैले देख्न र बुझ्न सक्तैन । बिहे गर्दा लागेको ऋण तिर्दातिर्दै युवकको उतै तीन वा छ वर्ष बितिसक्छ । तीन वा छ बर्षपछि टुप्लुक्क घर आयो मिलिक्क भेट गर्यो फेिर फर्क्यो । फेरि ४–५ बर्ष हरायो । फेरि अर्को ४–५ बर्ष हरायो । विदेशी बाबुको तस्बीर हेरेरै छोराछोरीयुवायुवती भइसक्छन् । एकचोटी घित मरून्जेल अनुहारमा नहेरी श्रीमतीको अनुहारको रंग खुइलिइसक्छ ।श्रीमानको अनुहारको रङ उडिसक्छ ।न रसरङ न साथसङ । दुबैले दुबैलाई धितमरुन्जेल हेरु निहालूँ भनेका बेलादुबैका आँखामा खाल्डा पर्न थालिसकेका हुन्छन् । दृष्टि सामथ्र्यको पानी मरिसकेको हुन्छ ।कपाल तिलचामले भइसकेको हुन्छ । छ भन्नुको नाममा श्रीमती हुन्छे । छ भन्नुको नाममा श्रीमान हुन्छ ।छोराछोरीले बाबुका स्वभाव र आनीबानी चिन्नै पाउँदैनन् । यो पीडाको मर्म भोग्नेहरूलाई मात्र थाहा छ । छोराछोरी बाबुले जति पनि कमाइदिन सक्छ भन्ने मानसिकताले हुर्किइरहेका हुन्छन् । यस्तो भएन, उस्तो भएन, फलनाको जस्तो भएन ढिस्कानाको जस्तो भएन भन्ने गुनासाका भारि बोकाउन छाड्दैनन् । यस्ता समस्या भोग्नेको संख्या कल्पनातीत रहेको छ । यसलाई कुनै लेखकले लेख्न र कुनै छायाकारले चलचित्रमा खिच्न सक्तैन । यता सरकार हिसाबकिताब गरिरहेछ – यसपाल पोहोरको भन्दा रेनिट्यान्स बढी भित्रियो । यसलाई अदूरदर्शी शासकको असफल अभिनयबाहेक केका रुपमा बुझ्ने ।
सरकारले रेमिट्यान्स भित्रियो भने पनि यसका पछाडि थुप्रै समस्याहरु छन् । वास्तवमा रेमिट्यान्सको सहयोग मुतको न्यानो भन्ने लोकोक्ति जस्तै बनिरहेको छ । बरु यहाँ देशको असफल बाटो चौडा बनिरहेछ । वास्तवमा रेमिट्यान्स र अनुदानले देश कहिल्यै उँभो लाग्दैन । देशलाई उँभो लाउने हो भने देशका मौलिक उत्पादन र सिर्जनाहरुको रक्षा गर्नुपर्छ । विश्वमा विरलै पाइने बोनस जनशक्तिलाई उपयोग गर्न सक्नुपर्छ । योग्यता र क्षमताको कदर गरिनुपर्छ । ऋब हाम्रो भन्ने कुरा केही छैन । हाम्रो देशका मौलिकताहरु दिनदिनै मसिँदै गएका छन् । आज भन्दा एक शताब्दी भन्दा पनि अघिदेखि घरबुना कपडा बुनेर लाउने,बेच्ने, साट्ने उद्ययमशील नागरिकहरु आज विश्वका दास बनिरहेका छन् । शरीर भरि भन्सार र भ्याटले डसेका कपडा लाएर हिँडिरहेछन् । मौलिकता र स्ववलम्बन अज्ञात चरीको नाम बनिरहेछ । साराका सारा आयातित वस्तुहरुमा निर्भर बन्दै छ । हिजो वाँसको काइँयो बनाएर प्रयोग गर्ने नेपालीहरुलाई प्रोत्साहन गरेको भए आज हरेक विदेसीहरुले त्यही सामग्री नेपालको चिनो बोकेर जानेथिए । बाँसुरी, मुरली, खैँजडी,मादल, सारङ्गी, टेम्को, दमाहा लगायतका बाजा बनाएर बजाउने नेपालीका बाजा मात्र संरक्षण गर्न सको भए विदेशीहरुलाई गजब गजबका उपहार बन्थे । काष्ठकला र काठ्ठ सामग्रीहरु बचाइरहन सकेका भए र उद्योगका रुपमा विकास गरेको भए आज भारतीय र चाइनिज फर्निचर प्रयोग गरिरहनुपर्ने थिएन । यस्ता उदाहरणहरु हजारौँ जुटाउन सकिन्छ । एउटा आलेखमा संकेत मात्र गर्न सकिन्छ ।
नेपमाली प्रतिभाहरुको विदेश पलायनले मौलिक संस्कृति, लोकसाहित्य आदि अनेक पक्षहरु नासिँदै गइरहेका छन् । उदाहरणका रुपमा आज समाजले जोगाउँदै ल्याएका भजन,भैली,देउसी,मारुनी, देउडा जस्ता गीत गाउने, नाच्ने मौलिक पनहरु प्नि हराउँदे गएका छन् । प्रतिभा पलायनका कारण रेकर्डविना कुनै संस्कृतिक पक्षहरु बाँच्न सकेका छैनन् । समाज पछाडि नै परे पनि गुरुका घर, पेटी, आँगन र गोठमै भएपनि अक्षर चिन्ने, चिनाउने परम्पराका विद्वान् जति आधुनिक विदेशी शिक्षाका विद्वान्हरु खरो उत्रिन सकिरहेका छैनन् । बरु गुरुका गोठ, आँगन र गाउँका चौतारी आदिमा शिक्षा लिने व्यक्तिहरु द्यूरदर्शी र शिक्षित थिए । उनीहरुमा सेवा भावना पनि त्यत्तिकै थियो । आजको शिक्षाले धनी र गरिबको शिक्षाका फरक बाटा लिनका साथै सबैलाई व्यापारी बनाइरहेछ । शिक्षतभनिएको मान्छेलाई न यताको बनाउन सकेको छ न उताको बनाउन सकेको छ । शताब्दीअघि नै घरायसी प्रयोग, व्यक्तिगत प्रयोग र कृषिजन्य प्रयोगका सामग्रीहरू बनाउने परम्परा बसालिसकेको देशले नयाँ शताब्दीमा आइपुग्दा सम्ममा तिनको विकास नगरेर ती सबै कुरा प्राय हराइसकेको छ। अब यी सबै घटना दुर्घटनाको कारण खोज्नुपर्ने वेला भएको छ। हामी त्यतिवेला बरू धेरै कुरामा आत्म निर्भर थियौँ तर आज पूर्ण रूपले परावलम्बी बनिरहेछौँ । नयाँ शिक्षाको पढाइ र राजनीतिज्ञको राजनीति गफगर्न, धाक लाउन र घमण्ड गर्नबाहेक अरू कुरामा कामै लागिरहेको छैन । आत्मविश्वासी बौद्धिक जनशक्ति देखिएकै छैन । पढ्न गएको युवा होटलका भाँडा माझ्दा माझ्दै कपाल फुलाइरहेछ । राजनीति गर्छु भन्ने व्यक्ति शैक्षिक दलाल, जग्गा दलाल र मानव तस्कर बनिरहेछ । न राजनीति सेवा बनिरहेछ न शिक्षा चेतना ?
देशलाई विश्वसमक्ष दासहरुको देश भनेर चिनाउनबाट रोक्न ढिला भइसकेको छ । त्यति मात्र होइन बेरोजगारहरुको, परावलम्बीहरुको, अशिक्षित र अज्ञानीहरुको, अदक्ष र असक्षमहरुको देशको रुपबाट बचाउन झन् ढिला भइसकेको छ । देशले पाएको बोनस युवाशक्तिलाई अर्काका मुलुकको दस होइन आआफ्नै घर र उद्योग धन्दाको मालिक बनाएर, कृषि व्यवसाय र सीपमूलक क्षेत्रमा लगाएर देश विकासका नयाँ ढोका उघार्न ढिला भइसकेको छ । नत्र विदेसिएका आफ्नै नागरिका शोक, भोक, रोग, पश्चाताप, आत्मग्लानीका अभिघातको भुड्ग्रोमा देश देश रहन कठिन देखिन थालेको छ । ती विदेशी मुलुकले पनि अहिले विदेसिइरहेको अनुपातमा बाहिरी जनशक्ति लिन सक्ने सम्भावना कम छ । ट्रम्पले यस सम्बन्धमा मुख खोलिसकेका छन् । देशमा राजनीतिक परिवर्तन र केही राजनीतिक सुझबुझ बढे पनि शङ्घीय संरचाअनुरुप बन्ने नयाँ नयाँ छोटा दरबारहरुले देशलाई कता पुर्याउने हुन् यो कल्पना बाहिरको कुरा बनिरहेछ । स्वावलम्बन भन्ने कुरा कुनै नयाँ तन्त्र र व्यवस्थाले दिने होइन । यो चेतनाको उर्जामा मात्र हुर्कन सक्छ । भखरै प्रकाशित एकजना नाम कहलिएका विद्वानद्वारा लिखित“व्हाई नेसन्ज् फेल“ नामक पुस्तमा नेपाललाई अफ्घानस्तान, हाइटी, सोमालिया, स्लाइबेरिया, सिरा लिओन, सूडानसँगै राखेर हेरिएको छ । नेपाललाई फेल्ड नेसनको रुपमा चित्रण गर्दै पुस्तकभर (पृ. ४५, ११५, २१६, २४४, ३७३) पाँच पाँच ठाउँमा उल्लेख गरिएको छ । यो कुरा सत्य नहोस् ।यी विद्वान् असफल लेखकबनून् । उनको नाम लिएर कलम चलाउँदा अर्कै सन्दर्भ आइपुगोस् । बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड ।
–लेख साभारः सहकार्य मासिक पत्रिका

