श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिए

मंसिर २२, काठमाडौं । मिस नेपाल २०१८ कि विजेता श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिएकी छन् । उनी एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन पनि शीर्ष १२ मा परेका थिए ।

यो पटक पाँच महादेशबाट टप १२ छानिएका थिए । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ छनोट गरिएको थियो । जसमा एसिया एण्ड ओसियानाबाट श्रृखला र जेसिकालाई पछि पार्दै थाइल्याण्डकी निकोलेन मिस एसिया बनिन् । टप १२ मा परेपछि श्रृखलाले आफूलाई समर्थन गरेकोमा सबै नेपालीलाई धन्यवाद दिएकी छन् । मिस वर्ल्डबाट फर्किएपछि सगरमाथामा स्काइ डाइभ गर्ने योजना रहेको बताएकी छन् । मिस वर्ल्डको टप ३० मा पर्नका लागि महत्वपूर्ण मानिने फास्ट ट्रयाक इभेन्टअन्तर्गत उनले सातमध्ये दुई अवार्ड जितेकी थिईन् । आइतबार घोषणा भएको ‘हेड टू हेड च्यालेन्ज’मा भने शृंखला दोस्रो चरणमा सिंगापुरे सुन्दरीबाट पराजित भएकी थिइन्।

मिस वर्ल्डमा धेरै नै महत्वका साथ हेरिने ब्युटी विद पर्पजमा शृंखलाले बनाएको भिडियो २५ प्रतिस्पर्धीलाई उछिन्दै पहिलो भएको थियो । विश्वभरका १ सय १८ देशका सुन्दरीले मिस वर्ल्डमा भिडियो लिएर गएका थिए। आयोजकले १ सय १८ मध्येबाट २५ भिडियो सर्टलिस्टमा राखेको थियो । यसरी छानिएका २५ मध्ये शृंखलाले बनाएको भिडियो उत्कृष्ट भएको थियो । श्रृंखलाले मकवानपुरको चेपाङ बस्तीमा स्वास्थ्य चौकीको आवश्यकता र स्वास्थ्य चौकीले त्यो समुदायमा आएको परिवर्तनलाई भिडियोमा कैद गरेकी थिइन्। सिसन बानियाँले शृंखलालाई भिडियो निर्माणमा सघाएका थिए।

सोमबार साँझ नै मल्टिमिडिया अवार्डको पनि घोषणा भएको थियो। नेपालकी शृंखलालाई यो विधामा भने सुरुदेखि नै दाबेदार मानिँदै आएको थियो। सामाजिक सञ्जालमा उपस्थिति, फलोअरको इंगजमेन्ट, क्रिएटिभ कन्टेन्ट र प्रभाव आदिलाई ध्यानमा राखी दिइने अवार्डमा शृंखलाले बाँकी प्रतिस्पर्धीलाई निकै पछाडि छाडेकी थिइन्। श्रृखलाले फेसबुक, इन्स्टाग्राम, मोबस्टार, ट्वीटर, मोडल पावरलाइभ आदि सबै माध्यममा दमदार उपस्थिति जनाएकी थिइन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.