डान्स लिटिल च्याम्प्समा हिमशृंखला एकेडेमीका दुई छात्राको उत्कृष्ट सफलता

असोज १४, काठमाडौं । लाइफ ओके टेलिभिजनको आयोजनामा सम्पन्न ‘डान्स लिटिल च्याम्प्स’ नृत्य प्रतियोगितामा हिमशृंखला एकेडेमी स्कुल÷ कलेजका दुई छात्राले उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष तीनभित्र स्थान बनाउन सफल भएका छन्।

प्रतियोगितामा हिमशृंखला एकेडेमीमा कक्षा ९ मा अध्ययनरत निरजला राई प्रथम र स्तुति श्रेष्ठ तृतीय भएका हुन्। एउटै विद्यालयका दुई छात्राले एउटै प्रतियोगितामा उत्कृष्ट तीनभित्र स्थान बनाएपछि विद्यालयमा खुसीको माहोल बनेको छ। प्रतियोगितामा निरजला राईले प्रभावशाली नृत्य प्रस्तुति र उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थानसहित नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन्। निरन्तरको अभ्यास, मेहनत, आत्मविश्वास तथा नृत्यप्रतिको समर्पणलाई उनले प्रतियोगिताको मञ्चमा प्रस्तुत गरेको प्रदर्शनबाट प्रमाणित गरेकी छन्।

त्यस्तै, स्तुति श्रेष्ठले तृतीय स्थान हासिल गर्दै नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन्। उनको प्रस्तुतिले पनि प्रतिभा, सिर्जनशीलता र नृत्यप्रतिको लगावलाई उजागर गरेको विद्यालयले जनाएको छ। एउटै विद्यालयका दुई छात्राले प्रतियोगिताको शीर्ष तीन स्थानमध्ये दुई स्थान हासिल गर्नु हिमशृंखला एकेडेमीका लागि उल्लेखनीय उपलब्धि बनेको छ। उनीहरूको सफलताले विद्यालयका शिक्षक, अभिभावक तथा सहपाठीहरूमा समेत उत्साह थपेको छ।

विद्यालयले अध्ययनसँगै विद्यार्थीको कला, संस्कृति, सिर्जनशीलता तथा प्रतिभा विकासलाई प्राथमिकता दिँदै आएको जनाएको छ। विद्यार्थीलाई उचित अवसर, प्रशिक्षण र प्रोत्साहन प्रदान गर्न सके उनीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा समेत आफ्नो पहिचान स्थापित गर्न सक्ने विद्यालयको विश्वास छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.