सरकारी अस्पतालको प्रयोगात्मक कक्षाबाट दुई करोड ५५ लाख आम्दानी

कात्तिक ५, चितवन। बिरामीको चापसँगै यहाँको सरकारी अस्पतालले प्रयोगात्मक कक्षाका लागि आउने विद्यार्थीबाट गत आर्थिक वर्षमा रु दुई करोड ५५ लाख ४० हजार आम्दानी गरेको छ ।

अस्पतालमा जिल्लाका स्वास्थ्य विषय पढाउने प्राविधिक कलेज, मेडिकल कलेज र देशका विभिन्न भागबाट स्वास्थ्य विषय पढाउने प्राविधिक कलेजका विद्यार्थी प्रयोगात्मक कक्षाका लागि आउने गर्दछन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण पौडेलका अनुसार यहाँका दुई निजी कलेजले सरकारी अस्पतालमा प्रयोगात्मक कक्षा गर्ने गरी नर्सिङ विषय पढाउने गरेका छन् । नर्सिङमा प्रविणता प्रमाणपत्र तह सञ्चालन गरेको आइओएमटीले गत वर्ष एकमुष्ट रु १९ लाख ९५ हजार र स्नातक तह सञ्चालन गरेको श्री मेडिकल एण्ड टेक्निकल कलेजले रु ५४ लाख ४५ हजार बुझाएका छन् । यस वर्ष उनीहरुले पाँच प्रतिशत थप रकम बुझाउने छन् । यसका अतिरिक्त ती कलेजका विद्यार्थी प्रयोगात्मक कक्षाका लागि पठाउँदा अन्य सरह शुल्क तिर्नुपर्ने हुन्छ ।

अस्पतालका अनुसार अनमिका विद्यार्थीले रु दुई हजार ५००, प्रविणता प्रमाणपत्र तहले रु चार हजार ५००, स्नातक तहका विद्यार्थीले रु छ हजार र स्नातकोत्तर विद्यार्थीले रु सात हजार मासिकरुपमा भुक्तानी गर्ने गर्छन् । गत वर्ष प्रयोगात्मक कक्षाको मात्र रु एक करोड ८१ लाख र दुई नर्सिङ कलेजले एकमुष्ट रकम बुझाएका थिए मेडिकल सुपरिटेन्डेन्ट पौडेलका अनुसार दैनिक एक हजार ५०० हाराहारी बिरामी उपचारका लागि अस्पताल आउने गर्दछन् । अस्पतालमा ६०० श्यया छ । जसको ८५ प्रतिशत हाराहारीमा विरामी भरिने गर्दछ । काठमाडौँको प्रसूतिगृहपछि सबैभन्दा बढी बच्चा जन्माउने अस्पताल भरतपुर अस्पताल हो । उक्त अस्पतालका प्रसूति रोग विशेषज्ञ डा श्री अधिकारीका अनुसार वार्षिक १५ हजार आमाले बच्चा यही अस्पतालमा जन्माउँछन् । अधिकारीले प्रसूति विभागमा बिरामीको चाप बढी हुने भएकाले देशका विभिन्न ठाउँका स्वास्थ्य शिक्षा पढ्ने विद्यार्थीको प्रयोगात्मक कक्षाका लागि भरतपुर अस्पताल उपयुक्त मानिएको बताए । प्रयोगात्मक कक्षाबाट आम्दानी राम्रो हुँदा अस्पताल सञ्चालनमा टेवा पुगेको छ । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.