दसैँमा मासु कसरी खाने? यस्तो छ डाक्टरको सुझाव

दसैँको रौनक घरसम्म आइपुगेको छ । दसैँका लागि घरजाने क्रम सुरु भएको छ । रातो टीका र जमराको पर्वको रुपमा चिनिने दसैँमा खानपानको पनि उत्तिकै महत्व छ । दसैँ भन्ने बित्तिकै मासुको कुरा पनि आइहाल्छ । दसैँमा पेटभरि मासु नखाए कहिले खाने भन्नेहरु धेरै छन् । तर दसैँमा मासु र अन्य खानेकुरा खाँदा बिरामी मात्र होइन स्वस्थ मानिस पनि बिरामी बन्ने अत्यधिक सम्भावना रहन्छ ।

खानपिनमा ध्यान नदिँदा धेरै नागरिक दसैँका समयमा अस्पतालमा पुग्ने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन् । खानपिनमा सामान्य ध्यान नदिँदा दसैँको समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडा बान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको संख्यमा उल्लेख्य वृद्धि हुने गरेको उनले बताए ।

‘एकै पटक धेरै मासु पकाएर धेरै दिनसम्म खाँदा त्यसबाट रोगलाई बढावा दिनेबाहेक अन्य केही पाइदैन ।’ उनले भने । भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा रोशन प्रजापति रातो मासु पोलेर, धेरै भुटेर वातारेर खाँदा क्यान्सरको खतरालाई बढाउने बताउँछन् । उनले भने,‘दसैँमा मासु खाँदै नखाने भनी रोक्न सकिँदैन तर खाँदा सावधानी भने अपनाउनुपर्छ ।’ बासी नखाने, सागसब्जी, गेडागुडी पनि खानामा समावेश गर्ने बरु कुखुराको मासु, माछाको मासु खाने पनि गर्न सकिन्छ ।’ क्यान्सरका बिरामीले खसीको मासु एकै पटक खानुभन्दा साधारण तरिकाले पकाएको थोरै मात्र प्रयोग गर्ने र पोलेको, डढेको वा धेरै भुटेको मासु भने खाँदै नखान उनको सल्लाह छ । मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराई भने दसैँमा खानै पर्छ भनी खसीको धेरै मासु एकै पटक नखान सल्लाह दिनुहुन्छ ।

उनले एक छाकमा तीन, चार टुक्रा मात्र मासु खाने, कोक, फेन्टा जस्ता पेय पदार्थलाई भन्दा पानीलाई प्राथमिकता दिन, हरियो तरकारीलाई खानामा समावेश गर्न र मासुको मात्र भर नपर्न सल्लाह दिनुभयो । अनियन्त्रित खानपानले शरीरमा अतिरिक्त बोसो जम्मा भई मधुमेह मात्र नभई अन्य रोगलाई पनि बढावा दिने डा भट्टराईको भनाइ छ । वरिष्ठ पोषणविद् डा अरुणा उप्रेती दसैँमा दीर्घरोगीले विशेष गरी खानपानमा ध्यान दिनुपर्ने बताउनुहुन्छ । उनले ताजा र सफा मासु किन्नेतर्फ ध्यानदिनआग्रह गरिन् । ‘मासु पकाउँदा धरै चिल्लो, मसला राखी भन्दा पनि साधारण तरिका अपनाउनु पर्छ । अन्यथा अपच हुने, बान्ता हुने, धेरै बासी मासुले आउँ हैजा जस्ता समस्या हुने गर्छ ।’ उनले भनिन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.