असोज २५, काठमाडौँ। सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिइएको छ । यस लक्ष्यलाई पूरा गर्न नेपालमा तिलगङ्गा आँखा प्रतिष्ठानलगायत आँखा स्वास्थ्य क्षेत्रमा संलग्न सबै निकायले सहकार्य गर्दै आइरहेका छन् ।
‘आँखा सेवा सबैका लागि, विश्व दृष्टि दिवस मनाऔं’ भन्ने नाराका साथ आज उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे विश्वभर चेतना फैलाउन विश्व दृष्टि दिवस मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठन र अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय संस्थाले सन् २०१० को अध्ययनलाई आधार मानी सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिएको छ । उक्त दुवै संस्थाले संयुक्त रूपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनीकरण गर्न सन् १९९९ फेब्रुअरीमा ‘भिजन २०२० ः दृष्टिको अधिकार’ कार्यक्रम घोषणा गरी हरेक वर्ष अक्टोबर महीनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवसको रूपमा मनाउने गरिएको हो । नेपाल सरकार पनि उक्त सङ्गठनको राष्ट्र भएकाले सन् १९९९ नोभेम्बरमा २० वर्षे कार्ययोजना (सन् २००१–२०१९) लागू गरेको छ ।
दिवसका अवसरमा तिलगङ्गा आँखा प्रतिष्ठानले मुलुकभरका सामुदायिक आँखा केन्द्रमा विभिन्न कार्यक्रम गरिरहेको प्रतिष्ठानका जनसम्पर्क अधिकृत सोनु केसीले जानकारी दिनुभयो । यस दिवसका अवसरमा प्रतिष्ठानले ओखलढुङ्गा, रामेछाप, दोलखा तथा सिन्धुली र मुस्ताङका बिरामीलाई लक्षित गरी आयोजना गरिएको आँखा शल्यक्रिया शिविरमा १४४ को निःशुल्क मोतीविन्दुको शल्यक्रिया गरिएको उहाँले जानकारी दिनुभयो ।

