४०१ मोटरसाइकलको स्वरूप सच्याइँदै, सवारीधनी आफैँ मिस्त्री लिएर ट्राफिक कार्यालयमा

काठमाडौँ, २ मङ्सिरः काठमाडौँ उपत्यकामा चर्को आवाज निकाल्ने तथा कानुनविपरीत स्वरूप परिवर्तन गरी सञ्चालन गरिएका मोटरसाइकलमाथि ट्राफिक प्रहरीले थालेको विशेष अभियानपछि नियन्त्रणमा लिइएका सवारीसाधनको स्वरूप सच्याउन थालिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक साताको अवधिमा विभिन्न स्थानमा गरेको जाँच तथा अनुगमनका क्रममा ४०१ वटा मोटरसाइकल नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका सवारीसाधनका धनी अहिले आफैँ मिस्त्री लिएर ट्राफिक प्रहरी कार्यालय परिसर पुग्दै कम्पनीले निर्धारण गरेको मापदण्डअनुसार सवारीको स्वरूप पूर्ववत् बनाउन थालेका छन् ।

सवारीको स्वरूप सच्याउने र कानुनी प्रक्रिया पूरा गर्ने सवारीधनीको भीडले ट्राफिक प्रहरी कार्यालय परिसरमा दिनभर चहलपहल देखिएको छ ।

आफ्नो मोटरसाइकलको स्वरूप सच्याउन गोकर्णेश्वरबाट आएका अर्जुन लामाले साथीको लहैलहैमा लागेर छोराले मोटरसाइकलको स्वरूप परिवर्तन गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “साथीको लहैलहैमा लागेर छोराले स्वरूप परिवर्तन गरेछ । अहिले ट्राफिक प्रहरीले समात्यो । आफैँ मिस्त्री बोलाएर स्वरूप सच्याएँ । फोकटको दुःख पाइयो ।”

त्यस्तै, कागेश्वरी मनहराका रमेश श्रेष्ठले पनि केही समयको रमाइलोका लागि गरेको गल्तीले अनावश्यक दुःख भोग्नुपरेको बताउनुभयो । “एकछिनको रमाइलोका लागि निकै दुःख पाइयो । अब जिन्दगीमा यस्तो गल्ती गरिँदैन,” उहाँले भन्नुभयो ।

सवारीसाधनमा आफूखुसी स्वरूप परिवर्तन गर्दा ध्वनि तथा वायु प्रदूषण बढ्नुका साथै सडक सुरक्षामा समेत जोखिम उत्पन्न हुने भएकाले ट्राफिक प्रहरीले ‘मोडिफाइड सवारीसाधन नियन्त्रण तथा ध्वनि प्रदूषण न्यूनीकरण विशेष अभियान २०८३’ सञ्चालन गरेको हो ।

अभियानप्रति सर्वसाधारणले समेत सकारात्मक प्रतिक्रिया दिएका छन् । काठमाडौँ बानेश्वरकी विनिता थापाले ट्राफिक प्रहरीको अभियानले आम नागरिकलाई राहत मिलेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “दिनभरि विभिन्न कामको तनाव हुन्छ । राति आरामसँग सुतौँ भन्दा बम पड्काएजस्तो आवाज निकाल्दै मोटरसाइकल चलाउँदा सुत्नै दिँदैनथे । ट्राफिक प्रहरीले नियन्त्रण अभियान चलाएको छ । आम नागरिक खुसी छन् ।”

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार कम्पनीले जडान गरेको साइलेन्सर परिवर्तन गरी अत्यधिक आवाज निकाल्ने र साइलेन्सरबाट आगोको झिल्कासमेत निकाल्ने प्रवृत्ति बढेपछि अभियान सञ्चालन गरिएको हो ।

उहाँले भन्नुभयो, “यसबाट सर्वसाधारण नागरिकले अनावश्यक सास्ती भोग्नुपरेको छ । विशेषगरी रातिको समयमा चर्को आवाजमा मोटरसाइकल चलाउँदा नागरिकको निद्रा र शान्त वातावरणमा असर पर्ने गरेको छ । हामीले नियन्त्रणमा लिएपछि अहिले सवारीधनी आफैँ आएर स्वरूप सच्याउँदै हुनुहुन्छ ।”

ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार नियन्त्रणमा परेका सवारीसाधनका धनी तथा चालकले यातायात व्यवस्था कार्यालयमा गई कानुनबमोजिमको जरिवाना बुझाएर कम्पनीले निर्धारण गरेको मापदण्डअनुसार सवारीसाधनको मूल स्वरूप कायम गर्नुपर्नेछ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ मा अधिकारप्राप्त अधिकारीको स्वीकृतिबिना सवारीसाधनको रङ, सिट सङ्ख्या, स्वरूप, इन्जिन वा चेसिसमा परिवर्तन हुने गरी हेरफेर गर्न नपाइने व्यवस्था रहेको उहाँले बताउनुभयो ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार नियन्त्रणमा लिइएका ४०१ मोटरसाइकलमध्ये सबैभन्दा बढी बुलेट रहेका छन् । नियन्त्रणमा परेका सवारीसाधनमा बुलेट ३४७, क्रसफायर १७, डुकाटी दुई, एनएस ११, स्कुटर चार, एमटिआर, केटीएम ड्युक नौ तथा अन्य आठ वटा रहेका छन् ।

यस्ता मोटरसाइकलबाट निस्कने चर्को आवाजले विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा विद्यार्थी बढी प्रभावित हुने गरेका छन् । विद्यालय तथा आवासीय क्षेत्र आसपासमा चर्को आवाजमा मोटरसाइकल चलाउँदा विद्यार्थीको अध्ययनमा समेत बाधा पुग्ने गरेको स्थानीयवासीको गुनासो छ ।

सार्वजनिक सडक सबै नागरिकको साझा प्रयोगस्थल भएकाले व्यक्तिगत मनोरञ्जन वा प्रदर्शनका नाममा अरूको स्वास्थ्य, शान्ति र सुरक्षामा असर पार्ने गतिविधि नगर्न प्रहरीले आग्रह गरेको छ ।

काठमाडौँ उपत्यकामा बढ्दो सवारी चापसँगै ध्वनि तथा वातावरण प्रदूषण नियन्त्रण चुनौतीपूर्ण बन्दै गइरहेका बेला ट्राफिक प्रहरीले यस्ता गतिविधिविरुद्धको अभियानलाई निरन्तरता दिने जनाएको छ ।

सुरक्षित सडक, ध्वनि प्रदूषणमुक्त वातावरण र सवारी नियमको प्रभावकारी पालना सुनिश्चित गर्न चालक तथा सवारीधनीको सहयोग आवश्यक रहेको प्रहरीले जनाएको छ ।

– विमलबहादुर विष्ट

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.