पत्रकारहरूको श्रम अधिकार उल्लंघन भएको भन्दै चरणबद्ध आन्दोलन घोषणा

मंसिर १, काठमाडौँ । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति सरकारले अनुदार व्यवहार देखाएको र पत्रकारहरूको श्रम अधिकार उल्लंघन भएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

मगंलबार महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भइरहेको तथा सञ्चारमाध्यमको कार्यालय अगाडि अनाधिकृत रूपमा गाडी तेर्स्याएर अवरोध पुर्‍याउनेलाई हालसम्म कारबाही नगरिएकोप्रति गम्भीर आपत्ति जनाइएको छ। यसैगरी, गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारहरूलाई जबरजस्ती निष्कासन गरी श्रम अधिकारको उल्लंघन गरिएको र पत्रपत्रिकाले प्राप्त गर्दै आएको लोककल्याणकारी विज्ञापनको रकम प्रेस काउन्सिल नेपालको सिफारिसबमोजिम कार्यान्वयन नगरिएको महासंघले जनाएको छ।

महासंघले मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने, मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखहरूलाई ध्यानाकर्षणपत्र पठाउने, मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जालसँग छलफल गर्ने, मंसिर ७ गते महासंघका सबै जिल्ला शाखाले सञ्चारसम्बद्ध संघसंगठनहरूसँग छलफल गर्ने र मंसिर ९ गते जिल्ला शाखाहरूको आयोजनामा देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि ‘पत्रकारलाई सामुहिक गिरफ्तार गर’ लेखिएको ब्यानरसहित भेला हुने कार्यक्रम घोषणा गरेको छ। महासंघले तोकिएका कार्यक्रममार्फत पनि आफ्ना मागहरू पूरा नभए थप कडा आन्दोलनका कार्यक्रम तय गर्न बाध्य हुने चेतावनी दिएको छ।

null

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.