सञ्चारगृहमा प्रहरी धरपकडप्रति रास्वपा नेताको आपत्ति

कार्तिक १३, काठमाडौं । विभिन्न सञ्चारगृहमा सादा पोशाकका प्रहरी परिचालन तथा धरपकडका घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता एवं केन्द्रीय युवा सशक्तीकरण तथा खेलकुद विभागका निवर्तमान सचिव पुरुषोत्तम पोखरेलले प्रश्न उठाएका छन्।

पोखरेलले सञ्चारगृहमा प्रहरी परिचालन र धरपकड हुनुको कारणबारे सरकारसँग स्पष्ट जवाफ मागेका छन्। प्रहरी स्वस्फूर्त रूपमा परिचालित भएका हुन् वा सरकारकै निर्देशनमा यस्तो गतिविधि भइरहेको हो भन्ने विषय सार्वजनिक हुनुपर्ने उनको भनाइ छ।

सञ्चारमाध्यमले उठाएका प्रश्नको जवाफ दिनु र उनीहरूले उठाएका विषयमा तथ्यसहित स्पष्ट पार्नुको सट्टा दबाब र धरपकडको बाटो रोज्नु लोकतान्त्रिक मूल्य, मान्यता र अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत हुने पोखरेलको धारणा छ।

उनले सञ्चारमाध्यमलाई प्रश्न गर्ने, आलोचना गर्ने र सरकारका काम कारबाही माथि निगरानी राख्ने अधिकार लोकतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै पत्रकारिता क्षेत्र माथि कुनै पनि प्रकारको अनावश्यक दबाब र हस्तक्षेप हुन नहुने बताएका छन्।

पोखरेलका अनुसार यस्ता घटनाले राष्ट्रिय स्वतन्त्र पार्टीले उठाउँदै आएको सुशासन, पारदर्शिता, जवाफदेहिता र अभिव्यक्ति स्वतन्त्रता प्रतिको प्रतिबद्धता माथि नै प्रश्न खडा गर्न सक्छन्। त्यसैले सम्बन्धित घटनाबारे सरकारले आफ्नो धारणा सार्वजनिक गर्दै प्रहरी परिचालनको उद्देश्य र आधार स्पष्ट पार्न आवश्यक रहेको उनको भनाइ छ।

उनले लोकतान्त्रिक व्यवस्थामा सरकार आलोचना बाट भाग्न नहुने र सञ्चारमाध्यम माथि दबाब सिर्जना गर्नुको सट्टा प्रश्नहरूको जवाफ दिनुपर्नेमा जोड दिएका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.