असोज १८, काठमाडौं । काठमाडौंको मूलपानीमा नवनिर्मित प्राथामिक स्वास्थ्य केन्द्रको भवन हस्तान्तरण गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकालाई उक्त भवन हस्तान्तरण गरेका हुन् ।
सोही कार्यक्रममा बोल्दै प्रमुख अथिति समेत रहेकी प्रतिनिधिसभा सांसद सरिता न्यौपानेले स्वास्थ्य केन्द्रको भवन सबैको साझा सम्पत्तिको रुपमा लिनुपर्ने बताईन् । उनले स्वास्थ्य केन्द्रलाई अस्पतालमा परिणत गर्ने नगरको योजना अनुरुप आवश्यक पूर्वाधार व्यवस्थापनका लागि आफूले केन्द्रिय बजेट आयोजनामा प्रस्ताव पु¥याउने प्रतिबद्धतता गरिन् । सांसद न्यौपानेले स्थानीय तहलाई सम्पूर्ण अधिकार प्राप्त भईसकेकाले स्वास्थ्य क्षेत्र लगायत सेवा प्रदायक ठाउँमा सरल र सहज रुपमा काम गर्ने वातावरण बनाउनुपर्ने समेत बताईन् । साथै आफ्नो ठाउँको विकास र परिवर्तनमा सबैले दत्तचित्त भएर लाग्न आग्रह गरिन् ।

त्यस्तै प्रदेश सांसद मणिराम फुयाँलले समाज विकास र रुपन्तारणका लागि सबैको सक्रियता र क्रियाशिलता हुनुपर्ने बताए । उनले नवनिर्मित स्वास्थ्य केन्द्र सबैको साझा सम्पत्तिको रुपमा लिनुपर्ने बताउँदै त्यसलाई संरक्षण गर्न पनि उत्तिकै जिम्मेवारी रहने बताए । त्यस्तै विकास निर्माण, आर्थिक, सामाजिक परिवर्तनमा सबैको सहभागिता रहने उल्लेख गर्दै मानव स्वास्थ्य शिक्षालाई पनि वृहत्तर रुपमा लैजानु पर्ने उल्लेख गरे ।
उक्त कार्यक्रमका सभापति तथा स्वास्थय केन्द्र व्यवस्थापन समितिका अध्यक्ष भरत प्रसाद फुयाँलले समुदायलाई स्वास्थ्य सेवा प्रवाह गर्न भवन प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै सबैले सहि सदुपयोग गर्न आग्रह गरे । उनले अव यहाँका विरामीहरु स्वास्थ्य परीक्षण गर्न अन्य ठाउँ जानु नपर्ने पनि बताए । काठमाडौं जिल्लाभरीमा ९ ओटा स्वास्थ्य केन्द्र बन्ने प्रस्तावअनुरुप मूलपानीमा ७ औ संख्यामा भवन निर्माण सम्पन्न भएको उल्लेख गरे । भवन निर्माणमा ४ करोड ८४ लाख खर्च भएको भएको जानकारी समेत व्यक्त गरे । कार्यक्रममा नगर प्रमुख कृष्णहरी थापा लगायत अन्य जनप्रतिनिधिहरुले आफ्नो भनाई राखेका थिए ।

