काठमाडौं । नेपालले सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा चीनसँग सहकार्यको प्रस्ताव गरेको छ । गृहमन्त्री सुधन गुरुङले नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसँग यस्तो प्रस्ताव गरेका हुन् ।
त्यसक्रममा राजदूत माओमिङले सीमा अपराध रोकथाम गर्ने नेपालको प्रस्तावप्रति चीन सरकार सकारात्मक रहेको बताए । उनले नेपालका सुरक्षा निकायको क्षमता विकासमा सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
सिंहदरबारमा सोमबार भएको भेटमा गृहमन्त्री गुरुङले नेपालमा चिनियाँ सहयोगमा सञ्चालित आयोजना समयमै सम्पन्न गर्नेतर्फ भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । भेटमा गृहमन्त्री गुरुङले एक चीन सिद्धान्तप्रति नेपालको प्रतिबद्धता दोहोर्याउँदै नेपाली भूमिमा चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने बताए ।

