चैत १७, काठमाडौँ । सरकारको बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति खारेज सम्बन्धी प्रस्तावप्रति बौद्ध धर्मालम्बीहरुले ध्यानाकर्षण गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय अन्तरगत रहेको बौद्ध समुदायको एक मात्र आधिकारिक निकाय बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति खारेज गरिने समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भएपछि बौद्ध धर्म संरक्षण तथा प्रवद्र्धनका अभियान्त तथा विभिन्न संघसंस्थाले गम्भीरतापूर्वक लिएका छन् ।
देशभरका हजारौ प्राचीन, ऐतिहासिक, पुरातात्विक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय महत्वका गोन्पा, विहारहरु दर्ता रहेर अद्यावधिक भइ सञ्चालन भइरहेको निकायलाई विभिन्न बहाना बनाई खारेजको प्रस्ताव लानु सिंगो बौद्ध समुदायमाथीको प्रहार भएको भन्दै नेपाल बौद्ध महासंघ, नेपाल बौद्ध शान्ति समाज, नेपाल बोन बुद्धिष्ट महासंघ, नेपाल बौद्ध धर्म संरक्षण संघ लगायत संघसंस्थाहरुले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
समाचारनुसार बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति खारेज गरि बौद्ध दर्शनलाई लुम्बीनी बौद्ध विश्वविद्यालयको एक शाखाको रुपमा राखिने तथा गुम्बा विकासको जिम्मेवारी मन्त्रालयको कुनै महाशाखलाई दिइने भन्ने योजना बौद्ध धर्म तथा समुदायको आस्थालाई खुम्च्याउन खोजिएको आरोप लगाउँदै त्यस्तो निर्णय नगर्न आग्रह गरेका छन् । देशभर रहेका गोन्पो, विहार, छ्योर्तेन, स्तूप, चैत्य, बौद्ध कलाकृति, साँस्कृतिक एवम् पुरातात्विक सम्पदाहरुको संरक्षण र प्रवद्र्धन गर्नु राष्ट्रिय सम्पत्ति र पहिचानको विषय भएकोले गुम्बा विकास समितिलाई थप अधिकार सम्पन्न बनाउनुपर्ने बताएको छ ।
पटक–पटक गुम्बा र बौद्ध धर्मको आस्थामाथी विभिन्न तत्वहरुले प्रहार गर्दै आइरहेको भन्दै बौद्ध संरक्षणका अभियन्ताहरुले असन्तुष्ट जनाइएका छन् । शान्तिदूत गौतम बुद्ध जन्मिएको देश नेपालको अस्तित्वलाई धुमिल पार्ने कार्य नगर्न सरकार र सबै पक्षलाई आग्रह गर्दै सिंगो समुदायको आस्थाको केन्द्रमाथी असर पर्ने कार्य गरेमा सडक संघर्ष गरिने बताएका छन् ।
गुम्बा विकास समितिबारे गलत निर्णय नगर्न बौद्धधर्म सम्बन्धी विभिन्न संघसंस्थाले सरकारलाई बुझाइएको ध्यानाकर्षण पत्र


