जेन्जी आन्दोलन : युवा चेतनाको जागरण कि असन्तुष्टिको विस्फोट ?

– एलिसा चौलागाईं

नेपालमा पछिल्लो समय चर्चामा आएको “जेन्जी आन्दोलन” केवल एक आन्दोलन मात्र होइन, नयाँ पुस्ताको मनोविज्ञान र चेतनाको अभिव्यक्ति पनि हो। सामाजिक सञ्जालबाट सुरु भएर सडकसम्म फैलिएको यो आन्दोलनले देशका पुराना राजनीतिक संरचना र सोचमाथि गहिरो प्रश्न उठाएको छ। अहिलेको पुस्ता, जसलाई “जेन्जी” भनेर चिनिन्छ, उनीहरू पुराना राजनीतिक नारा र खाली वचनभन्दा पनि व्यवहारिक परिवर्तन र पारदर्शिताको खोजीमा छन्। नेपालमा लामो समयदेखि राजनीतिक अस्थिरता, भ्रष्टाचार, बेरोजगारी र असमानताका समस्या निरन्तर देखिँदै आएका छन्।

विभिन्न सरकारहरू परिवर्तन भए, नेताहरूका अनुहारहरू फेरिए, तर जनताको अपेक्षाअनुसार परिवर्तन देखिएन। यही निराशा र असन्तुष्टि युवामाझ दबिएर बसिरहेको थियो। सामाजिक सञ्जालमा सक्रिय नयाँ पुस्ताले यिनै समस्याहरूमाथि आवाज उठाउन सुरु गर्दा त्यो क्रमशः जेन्जी आन्दोलनको रूपमा विकसित भयो। यो आन्दोलन कुनै दल, नेता वा संगठनको निर्देशनमा नभई स्वतन्त्र रूपमा युवाको असन्तोष र भविष्यप्रतिको चिन्ताबाट जन्मिएको हो।

आन्दोलनका कारणहरू
जेन्जी आन्दोलनका मुख्य कारणहरू धेरै छन्ः
पहिलो, राजनीतिक नेतृत्वप्रतिको अविश्वास। दशकौँदेखि त्यही नेताहरूले देश चलाइरहेका छन्, तर न त नीतिगत सुधार आएको छ न नै रोजगारीका अवसर बढेका छन्। दोस्रो, शिक्षा र रोजगारीबीचको ठूलो खाडल। पढेलेखेका युवाहरूलाई देशभित्र अवसर नपाएर विदेश जान बाध्य बनाइएको छ। तेस्रो, सामाजिक सञ्जालको प्रभाव। फेसबुक, टिकटक, एक्स (ट्विटर) जस्ता माध्यमहरूले युवाको सोच, आवाज र असन्तुष्टिलाई साझा मञ्च उपलब्ध गराएको छ।

आन्दोलनका सकारात्मक पक्षः
यस आन्दोलनले सबैभन्दा ठूलो योगदान युवाहरूमा राजनीतिक चेतना जगाउनु हो। लामो समयदेखि राजनीति केवल नेताहरूको खेल भन्ने धारणामा बाँधिएका युवाहरूले पहिलोपटक आफू पनि परिवर्तनको हिस्सा बन्न सक्छौं भन्ने महसुस गरेका छन्। यसले पुराना दलहरूलाई युवाको विचार र मागप्रति सजग बनाएको छ। अब राजनीतिक दलहरूले केवल भाषण गरेर जनसमर्थन पाउने समय सकिएको सन्देश यो आन्दोलनले दिएको छ। अर्को पक्ष, यो आन्दोलनले सामाजिक एकता र राष्ट्रिय सरोकारका विषयमा खुला संवाद सुरु गरेको छ। विद्यालयदेखि विश्वविद्यालयसम्मका विद्यार्थी, बेरोजगार युवा र पेशाकर्मी सबै एउटै आवाजमा जोडिनुले यसको प्रभावलाई गहिरो बनाएको छ।

आन्दोलनका चुनौती र कमजोरीः
तर, सबै आन्दोलन जस्तै, जेन्जी आन्दोलन पनि पूर्ण छैन। यसको सबैभन्दा ठूलो कमजोरी स्पष्ट नेतृत्व र दीर्घकालीन योजना नहुनु हो। कुनै व्यक्तिले वा समूहले यसको दिशा निर्धारण गर्न नसक्दा कतिपय ठाउँमा भावनात्मक प्रतिक्रिया मात्र देखियो । केही घटनामा आन्दोलन हिंस्रक बन्न खोज्दा यसको उद्देश्यमा प्रश्न उठ्न थाले। आवेग र क्षणिक जोशले दीर्घकालीन नीति निर्माण गर्न सक्दैन भन्ने कुरा इतिहासले धेरैपटक देखाइसकेको छ। त्यसैले, यस्तो आन्दोलनलाई व्यवस्थित र जिम्मेवार ढंगले अघि बढाउन आवश्यक थियो भन्ने कुरा म आफैं एक जेन्जी पुस्ताकै व्यक्ति भएका नाताले पनि भएको कुरा महसुस गरेको छु ।

सामाजिक र राजनीतिक प्रभावः
जेन्जी आन्दोलनले नेपाली समाजमा एउटा नयाँ धार उत्पन्न गरेको छ। यसले पुराना पुस्तालाई सम्झाइदिएको छ कि नयाँ पुस्ता अब मौन छैन। उनीहरू देशको शासन, नीति र भविष्यबारे प्रश्न गर्न सक्ने अवस्थामा पुगेका छन् । राजनीतिक रूपमा पनि यसको प्रभाव देखिएको छ । दलहरू अब युवासँग संवाद गर्न बाध्य भएका छन्। सरकार र राजनीतिक नेतृत्वमाथि जवाफदेही हुनुपर्ने दबाब सिर्जना भएको छ। अन्ततः, जेन्जी आन्दोलनलाई केवल असन्तुष्टिको विस्फोट भनेर खारेज गर्न सकिँदैन। यसले नयाँ पुस्तामा जागरण ल्याएको छ, आत्मविश्वास जगाएको छ र देशभक्तिको नयाँ परिभाषा दिएको छ। तर, यो आन्दोलन स्थायी परिवर्तनमा रूपान्तरण हुनका लागि दिशा, संगठन र जिम्मेवारी अनिवार्य छन् । युवाहरूले अब केवल विरोध होइन, विकल्प पनि प्रस्तुत गर्न सक्ने क्षमता विकास गर्नुपर्छ। त्यसो गर्न सकिएमा जेन्जी आन्दोलन इतिहासमा केवल “आन्दोलन” होइन, “परिवर्तनको आरम्भ” का रूपमा दर्ज हुनेछ।

Chagunarayan
Satkar Media House
1 Comment
  1. Nirmala says

    सहि विश्लेषण एलिसा मिस!

Leave A Reply

Your email address will not be published.