असोज १, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिका लागि ३ जनाको नाम सिफारिस गरिएको छ। उपकुलपतिका लागि छनोटमा परेका ६ जनामध्ये कार्ययोजना प्रस्तुतिमा उत्कृष्ट रहेका ३ जनाको नाम सिफारिस गर्ने निर्णय भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीको संयोजकत्वमा गठित समितिले छनोटमा परेका ६ जनासँग आइतबार कार्यपत्र प्रस्तुति सुनेको थियो । विभिन्न १० जना विज्ञहरु समक्ष राम्रो कार्यपत्र प्रस्तुत गर्न सफल भएका ३ जनालाई उपकुलपतिका लागि सिफारिस गर्ने निर्णय भएको हो। उपकुलपति छनोट समितिको आज बसेको बैठकले एक नम्बरमा डा डिएन शाह, दुई नम्बरमा डा ढुण्डी पौडेल र तीन नम्बरमा डा. अजित रायमाझिको नाम सिफारिस गर्ने निर्णय गरेको हो।
न्याम्सका प्राध्यापक तथा विद्यार्थीहरुले न्याम्स भन्दाबाहिरको व्यक्तिलाई उपकुलपति नमान्ने भन्दै विरोध गरिरहेका छन्। छनोट समितिले सिफारिस गरेको तीन जना नाममध्ये डा ढुण्डी पौडेल मात्र न्याम्स अन्तर्गत कार्यरत छन्। डा डिएन शाह हाल ग्रान्डी अस्पतालमा कार्यरत छन भने डा अजित रायमाझी कान्ति बाल अस्पतालमा कार्यरत थिए।
समितिले उपकुलपतिका लागि आवेदन दिएका २२ जनामध्ये ६ जनालाई प्रारम्भिक रुपमा छनोट गरेको थियो। ६ जनामा अहिले सिफारिस भएका ३ सहित डा विधाननिधी पौडेल, डा विश्वनाथ यादव र डा गेहनाथ बराल थिए। मन्त्रालयले गत २९ गते उपकुलपतिका लागि आवेदन दिन १५ दिने सूचना जारी गरेको थियो।
समितिले छनोट गरेका नामका आधारमा प्रतिष्ठानको सहकुलपति समेत रहेका मन्त्री यादवले उपकुलपति नियुक्तीका लागि कुलपति तथा प्रधानमन्त्रीलाई नाम सिफारिस गर्नेछन्। सोही आधारमा प्रधामनमन्त्रीले उपकुलपति नियुक्त गर्नेछन्। तीन सदस्यीय छनोट समितिमा मन्त्री उपेन्द्र यादव, प्रमुख विशेषज्ञ डा सुशिलनाथ प्याकुरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटा सदस्य छन्।
यी थिए २२ प्रतिस्पर्धी
१. प्रा.डा. सिताराम चौधरी
२. प्रा.डा. गणेशबहादुर गुरुङ्ग
३. प्रा.डा. स्वयं प्रकाश पण्डित
४. प्रा.डा. अनिल कुमार मिश्र
५. डा. पियुष दाहाल
६. प्रा.डा. श्रीकृष्ण गिरी
७. प्रा.डा. बुलन्द थापा
८. प्रा.डा. गेहनाथ बराल
९. डा. राम परिक्षण यादव
१०. प्रा.डा. किरण मानन्धर
११. प्रा.डा. विधाननिधि पौडेल
१२. प्रा.डा. रमिला श्रेष्ठ
१३. प्रा. डा. विजय कुमार शर्मा
१४. प्रा.डा. यहुनचन्द्र शिवाकोटी
१५. डा. विश्वनाथ यादव
१६. डा. देवनारायण शाह
१७. प्रा.डा ढुण्डिराज पौडेल
१८. प्रा. डा. अजित रायमाझी
१९. प्रा.डा. जागेश्वर गौतम
२०. प्रा.डा. रेवती रमण मल्ल
२१. डा. पुकार चन्द्र श्रेष्ठ
२२. डा. भोलाराम श्रेष्ठ

