नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी

जेठ ८, मान्म, कालीकोट ।  कालीकोट सान्नी त्रिवेणी गाउँपालिका–९, मुम्राका ४६ वर्षीय वसन्त लुवार गाउँमा स्थापित नेपाली हाते कागजबाट मनग्य आम्दानी गरिरहनुभएको छ ।

पहिले रोजगारीका लागि अर्काको देशमा गएर जोखिमपूर्ण काम गर्नुपरे पनि त्यहाँबाट फर्केर गाउँमै उद्योग स्थापना गर्दा आफूसँगै अन्य युवाले पनि रोजगारी पाएका बताउनुभयो ।  उहाँले स्थानीय केही युवा मिलेर स्थापना गरिएको उद्योगमा हाल २४ जनाभन्दा बढीले रोजगारी पाएका समेत जानकारी दिनुभयो । “पहिलो गाउँमा रोगगारीका अवसर थिएनन् । देशमा केही हुँदैन भनेर रोजगारीका लागि परदेश ९भारत० गएर धेरै वर्ष काम गरे । अर्कोको देशमा जोखिमपूर्ण काम गर्नुपर्दा निकै दुःख पाएको थिए”, उहाँले भन्नुभयो, “त्यहाँ अपमान र हण्डर खाएपछि आफ्नै गाउँमा फर्किएर उद्योग स्थापना गरेको हुँ । केही युवा मिलेर सिर्जनशील नेपाली हाते कागज लघुउद्योग स्थापना गरेका हौँ । हाल २४ जनाभन्दा बढी युवाले रोजगारी पाएका छौँ ।”

धेरै युवा नेपालमा केही गर्न सकिदैँन भनेर विदेशीएका छन् तर अर्काको देशमा गएर आर्थिक उपार्जन राम्रै भए पनि आत्मसन्तुष्टि र स्वाभिमानका लागि आफ्नै देशमा केही गर्नुपर्ने निष्कर्षसहित आफूहरू गाउँमै दघुउद्यममा लागेको वसन्तको भनाइ छ । “युवाले समूहिकरूपमा केही गरेमा नेपालमै केही गर्न सकिन्छ, गाउँमा हामीले त्यो उदाहरण पेश गरिसकेका छौँ । विदेश गएरमात्र पैसा कमाइन्छ भन्ने चलनको अन्त्य हुन जरुरी रहेको छ”, उहाँले भन्नुभयो ।

उद्योग सञ्चालक समितिका अध्यक्ष वीरेन्द्र केसीले स्थानीय युवा मिलेर गाउँमा स्वरोजगारको आधार तयार गरिरहेका बताउनुहुन्छ । उहाँले कच्चापदार्थको समस्या नभए पनि विद्युत् अभावका कारण उद्योग पूर्णरूपमा सञ्चालन गर्न नसकिएकाले त्यसमा सहजीकरण गर्न स्थानीय तहलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “गाउँमा उत्पादन भएको नेपाली हाते कागज बाहिर लगेर बेच्ने गरेका छौँ । त्यसबाट २४ जना बढीले रोजगारी पाएका छौँ । विद्युत् आपूर्ति भई उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्नसके थप रोजगारी सिर्जना गर्न सकिन्छ ।”

गाउँपालिकाका उपाध्यक्ष पार्वती सिंह सज्यालले समूहका सदस्यहरूले उत्पादन गरेका नेपाली हाते कागज न्याय समितिले खरिद गर्ने व्यवस्था मिलाइएको बताउनुभयो । “गाउँमा स्थापित साना लघु उद्योगलाई स्थापित गरेर लैजाने पालिकाको कार्यनीति रहेको छ । त्यसैकारण उत्पादित कागज गाउँपालिकाले नै खरिद गरिदिने गरेका छौँ, बाँकी समस्या समाधानका लागि पनि हाम्रो सहयोग रहन्छ”, उहाँको भनाइ छ । हाल उक्त उद्योगबाट उत्पादित कागज बेचेर मासिक रु एक लाखसम्म आम्दानी हुने गरेको वसन्तले बताउनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.