कृषिमा आत्मनिर्भर भएमात्रै मुलुकको आर्थिक समृद्धि हुन्छः चेम्बर अध्यक्ष मल्ल

माघ ७, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक समृद्धिका लागि सर्वप्रथम कृषिमा आत्मनिर्भर हुनुपर्ने बताउनुभएको छ ।

कृषिमा परनिर्भरता नहटेसम्म आर्थिक समृद्धि हासिल गर्ने सरकारी नीति र लक्ष्य कागजमै सिमित हुने अध्यक्ष मल्लले बताउनुभयो । कृषिजन्य बस्तुहरुको उत्पादन र बजारीकरणका लागि तीन तहको सरकार र निजीक्षेत्रका संगठनबीच प्रभावकारी समन्वय हुनुपर्नेमा अध्यक्ष मल्लले जोड दिनुभयो । दोलखा चेम्बर अफ कमर्सको पाँचौ साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष मल्लले विद्यमान व्यापार घाटा कम गर्नका लागि कृषि एवं खानीजन्य बस्तुहरुको पहिचान एवं प्रर्वद्धन संगै निर्यात सहजीकरण हुनुपर्नेमा जोड दिनुभएको हो ।

अध्यक्ष मल्लले भन्नुभयो, ‘कृषि उत्पादनको दृष्टिकोणले सवै जिल्लाको आ– आफ्नै विशिष्टकृत महत्व छ, स्थानीय उत्पादनको प्रर्वद्धन एवं बजारीकरणका लागि ठोस नीतिगत व्यवस्थाको खाँचो छ, । ’ कृषि प्रधान मुलुकमा खाद्यान्ह समेत आयात गर्नुपर्ने अवस्था आउनु मुलुकका लागि दुर्भाग्य भएको भन्दै अध्यक्ष मल्लले स्थानीय कृषि उपजहरुको उत्पादन वृद्धि एवं सहज बजारीकरणका लागि जिल्लामा छुट्टै कक्ष निर्माण गर्नुपर्नेमा जोडदिनुभयो ।

उहाँले भन्नुभयो, ‘आन्तरिक उत्पादन नहुँदा कृषि जन्य बस्तुहरुमा समेत परनिर्भरता बढ्दो क्रममा छ, सम्भावना भएका क्षेत्रहरुमा समेत निर्यात सहजीकरण हुन सकेको छैन, ।’ निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने हो भने कृषि, खानी, जलविद्युत, पर्यटन र सूचनाप्रविधियुक्त क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर नीति योजना बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिनुभयो ।

 

 

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.