सिटी होटेलले आईपीओ निष्कासन गर्ने

चैत १३, काठमाडौं । सिटी होटल लिमिटेडले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यही चैत २१ देखि आउँदो वैशाख ५ गतेसम्म आईपीओ निष्कासन गर्न लागेको हो । यस्तै, सर्वसाधारण लगानीकर्ताका लागि कम्पनीले वैशाख २५ देखि २८ गतेसम्म आईपीओमा आवेदन खुला गर्नेछ । सर्वसाधारणका लागि खुला गरिएको अवधिमा पूर्ण आवेदन नपरेमा आवेदन समय जेठ ८ गतेसम्म लम्ब्याइने जनाइएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतममा दुई हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले जारी पुँजी एक अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात् १६ करोड ७४ लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका १६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । सोमध्ये एक लाख ६७ हजार ४०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्ट्याइएको छ । यस्तै, ८३ हजार ७०० कित्ता सेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता सेयर कर्मचारीका लागि छुटट््याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले उक्त कम्पनीलाई केयर एनपी डबल ‘बी प्लस’ इस्युअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको अधिकृत पुँजी दुई अर्ब रुपैयाँ छ । पुस मसान्तसम्म यो कम्पनी १३ करोड २४ लाख रुपैयाँ घाटामा छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.