उपत्यकामा दोब्बरले बढ्यो च्याङ्ग्राको मूल्य, तयारी मासुकाे प्रतिकिलाे २ हजार ६००

दसैँका लागि मुस्ताङ हुँदै ल्याइएको च्याङ्ग्राको मूल्य यस वर्ष अत्यधिक बढेको छ। सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी चौरमा दुई हजार ५०० च्याङ्ग्रा र करिब दुई हजार खसी बोका बिक्रीका लागि ल्याइएको छ। सोमबारदेखि खरिदका लागि ग्राहक आए पनि आज बिहानैदेखि च्याङ्ग्रा, खसी, बोका खरिद गर्नका लागि ग्राहकको भीड लागेको छ।

जिल्लाका मात्रै नभई काठमाडौंँ र काभ्रेदेखिका बासिन्दा च्याङ्ग्रा लिन भक्तपुर आए पछि व्यापारीले प्रतिकिलो जिउँदो च्याङ्ग्रा रु एक हजार २०० मा बिक्री गरेका छन्। आजबाट भने अझै रु १०० मूल्य बढ्न सक्ने व्यापारी बताउँछन्। यो मूल्य गत वर्षको भन्दा दोब्बर मूल्य हो। यहाँका व्यापारीले गत वर्ष जिउँदो च्याङ्ग्रा प्रतिकिलो रु ७५० देखि रु ८०० सम्ममा बिक्री गरेकोमा यस वर्ष भने सुरुको मूल्य नै रु एक हजार २०० राखेका छन्।

रामेछापका च्याङ्ग्रा व्यापारी हिमलाल श्रेष्ठ गत वर्षभन्दा यस वर्ष मुस्ताङको घरमै महँगो तिर्नुपरेकाले मूल्य बढेको बताए। सल्लाघारी चौरमा च्याङ्ग्रा बिक्री गर्दै उनले भने, “चीनबाट मुस्ताङसम्म ल्याइएको च्याङ्ग्रा नेपाली व्यापारीले मुस्ताङबाट खरिद गर्दा च्याङ्ग्रा प्रतिगोटा रु ४० हजार तिर्नु परेकाले यस वर्ष च्याङ्ग्रा महँगो भएको हो।” च्याङ्ग्रा ल्याउँदा मासु जोखेर नभई सानो ठूलो मिलाएर गोटा गन्तीबाट खरिद गरेर ल्याउनुपरेको जनाउँदै उनले सानो र ठूलोको एउटै मूल्य तिरेर ल्याउनुपर्ने र यहाँ किलोमा बिक्री गर्नुपर्दा च्याङ्ग्रा महँगो परेको उनको भनाइ छ।

अर्का व्यापारी रमेश खड्काले पनि च्याङ्ग्रा प्रतिकिलो रु १२ सयसम्ममा बिक्री गरेको जनाउँदै मुस्ताङमै च्याङ्ग्राको मूल्य बढेकाले यस वर्ष यहाँ पनि मूल्य बढेको बताए। उनले सानो च्याङ्ग्रा प्रतिगोटा रु ३६ हजार र ठूलो च्याङ्ग्रा रु ४० हजारमा व्यापारीले खरिद गरेर ल्याएको बताए। च्याङ्ग्रा तयारी मासुको मूल्य भने रु दुई हजार ६०० छ। सल्लाघारीमा च्याङ्ग्राको तयारी मासु रु दुई हजार ६०० मा बिक्री गरेको बताउँदै व्यापारी सुमन शाहीले गत वर्ष तयारी मासु रु एक हजार ७०० मा बिक्री गरे पनि यस वर्ष किलोमै रु एक हजार १०० बढी मूल्यमा बिक्री गर्नुपरेको बताउँछन्। भेडा बिक्री हुन छाडे पछि यस वर्ष व्यापारीले काठमाडाैं उपत्यकामै करिब ५० वटा मात्रै ल्याएको र भक्तपुरमा सात वटा मात्रै भेडा ल्याएको जानकारी दिए। भेडा पनि मुस्ताङमै प्रतिगोटा रु ३५ हजार परेको भन्दै व्यापारीले यहाँ भने प्रतिकिलो रु एक हजार १०० मा बिक्री मूल्य राखेको जानकारी दिए।

च्याङ्ग्रा ल्याउँदा यस वर्ष विभिन्न ठाउँमा रु २५ हजार कर तिरेको र सल्लाघारीमा ठाउँ लिएबापत भक्तपुर नगरपालिकालाई रु २५ हजार कर तिरेको बताए। भक्तपुर नगरपालिकालाई कर तिरे पनि नगरपालिकाले एउटा अस्थायी शौचालयसम्मको व्यवस्था नगरेको व्यापारीको गुनासो रहेको छ। च्याङ्ग्रा व्यवसायी राजाराम श्रेष्ठले भक्तपुर नगरपालिकाले एउटा गोठबाट रु २५ हजार भाडा लिए पनि शौचालयसम्म नदिएको गुनासो गरे। उनले भने, “भक्तपुर नगरपालिकाले एउटा गोठको भाडा रु २५ हजार लिएको छ, यहाँ २० वटाभन्दा बढी गोठ छ, अस्थायी भए पनि शौचालय बनाइदिन आग्रह गर्दा उल्टै खाल्डो खनिदिएका छौँ त्यसमै गर भनेर गए, खुल्ला शौचालय गर्नुपर्ने बाध्यता पो छ त।”

नगरपालिकाले व्यापारीलाई बत्तीसमेत नदिएको गुनासो गरेका छन्। शुल्क लिएपछि अस्थायी विद्युत्को व्यवस्थासमेत नगरेको भन्दै व्यापारीले कतिपय अध्याँरोमा टुकी बालेर बस्नुपरेको त कतिपयले इमरजेन्सी लाइट ल्याएर बालेर बस्नुपरेको गुनासो गरेका छन्। नगरपालिकाले तयारी मासु बिक्री गर्ने प्रत्येक व्यापारीसँग रु १० हजारका दरले भाडा लिएको छ। चौरमा १४ वटा तयारी मासु बिक्री गर्ने अस्थायी मासु पसल छन्। मासु व्यापारी कुर्णबहादुर शाहीले नगरपालिकाले एउटा पसलबाट रु १० हजार भाडा लिएको बताउँदै शौचालय र बत्तीसमेतको व्यवस्था नगरपालिकाले नगर्दा महिलालाई समेत निकै समस्या परेको गुनासो गर्छन्।

सल्लाघारीमा खसी प्रतिकिलो रु ६५७ देखि ७५० सम्ममा बिक्री भएको छ। खसी व्यापारी सिन्धुपाल्चोकका मङ्गल श्रेष्ठले खसीको जात र ठाउँअनुसार मूल्य फरक परेको बताए। यहाँ २२ किलोदेखि ९० किलोसम्मका खसी आफूले बिक्री गरेको जनाउँदै सरकारले निर्धारण गरेको रु ६५० मा सबै जातका खसी बिक्री गर्न नसकिएको बताए।  भक्तपुरको हनुमानघाट र ठिमीको कमेरोटारमा राँगो बिक्री भइरहेको छ। त्यस्तै भेलुखेल, च्यामासिंहलगायतका ठाउँमा बोका र खसी बिक्री भइरहेको छ। हनुमानघाट र कमेरोटारमा रु एक हजार भन्दा बढी राँगा बिक्रीका लागि राखिएका छन्। रामेछाप, पश्चिमका तराई जिल्लाबाट र भारतबाट ल्याएको राँगा प्रतिराँगा रु २५ हजारदेखि ८५ हजारसम्ममा बिक्री भएको व्यापारीले बताउँछन्।

भक्तपुरका नेवार समुदायले दसैँमा फूलपातीका दिन विभिन्न टोलका गुठीबाट राँगो काट्ने र घर–घरमा मासु भित्र्याउने परम्परा रहेको छ भने नवमीसम्म नै विभिन्न गुठी समूहले टोलटोलमा राँगा बलि दिने परम्परा  छ।रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.