मंसिर ६, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नेतृत्वमा निर्माण भएको राष्ट्रिय विभूति तथा नेपाल सम्बत्का प्रवर्तक शंखधर साख्वाः तथा प्रजातान्त्रिक आन्दोलनका नेता, शान्ति प्रक्रियाका सूत्रधार एवम् मानवअधिकार आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण गरिएको छ ।

यस अघि नै निर्माण भई पार्कलाई शंखधर उद्यनको रुपमा सञ्चालन गरिए पनि राष्ट्रिय विभूति साख्वाःको शालिक अनावरण भने (आज ) शनिवार गरिएको हो । उद्यनभित्र अब मानवअधिकारका अगुवा नेता एवम् अधिकारकर्मी तुलाधरको पनि शालिक देख्न पाउने छन् । तुलधारले राष्ट्रिय विभूतिका रुपमा शंखधरको शालिक राख्ने अभियान सञ्चालन गरेका थिए । ऋणमा डुबेका नेपाली जनताको ऋण चुक्ता गरी नेपाल सम्बत् स्थापना गरेका शंखधरलाई राष्ट्रिय विभूतिका रुपमा मान्दै आएका छन् ।
महानगरको आयोजनामा भएको शालिक अनावरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले शंखधरले स्थापना गरेको संवत् कुनै समुदायको मात्र नभई देश र सम्पूर्ण नेपालीको सम्बत्को रुपमा रहेको उल्लेख गरे । आफ्नै माटोमा उत्पत्ति भएको र नेपालको नामबाट सञ्चालित यो सम्बत् सिंगो राष्ट्रको सम्बत् तथा पर्वको रुपमा रहेको मन्त्री श्रेष्ठले बताए । नेपाल सम्बत् मौलिक इतिहासको सम्पत्ति समेत रहेको उनले बताए ।
पद्मरत्न तुलाधरलाई वामआन्दोलनका नायक मात्र नभई हरेक वामप्रजातान्त्रिक आन्दोलन र राष्ट्रिय परिवर्तनका आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तित्वको रुपमा मान्नुपर्ने मन्त्री श्रेष्ठले बताए ।

त्यस्तै बागमति प्रदेश भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँलले शंखधरलाई राष्ट्रिय विभूतीको रुपमा मान्ने र सरकारी मान्यता दिन राजनीतिक रुपमै प्रस्ताव अघि सारेको स्मरण गराए । आफु नेकपा काठमाडौँ जिल्ला सचिव भएको समयमै पार्टी जिल्ला कमिटिमार्फत नेपाल सम्बत्लाई सरकारी मान्यता दिनुपर्ने प्रस्तावसहित नेपाल सम्बत् मनाउन थालेको उल्लेख गरे ।

काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले शंखधर साख्वा र पद्मरत्न तुलाधरलाई कृति र योगदानलाई सम्मान गर्नका लागि शालिक स्थापना गरेको बताए । महानगरको नेतृत्वमा राज्य स्तरबाटै दुई शालिक निर्माण भएकोमा विशेष महत्व रहेको उनले बताए । अन्य संघसंस्था वा समूहले राखेको भन्दा राज्यले सम्मान गरेर राखेको हुनाले त्यसको महत्वलाई बुझेर अगामी दिनमा उहाँहरुले पु¥याएका योगदान र देखाएका पाटोेलाई अंगिकार गरेर अगाडी बढ्ने मेयर शाक्यले प्रतिबद्धता गरे ।

शालिक अनावरण कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामविर मानान्धर , महानगरपालिका उपमेयर हरिप्रभा खड्गी लगायतजनप्रतिनिधिहरु सहभागी रहेका थिए ।
भिडियो रिर्पोट

