व्यावसायिक खेतीबाट राम्रो आम्दानी लिँदै कृषक

भदौ २८, खाँदबारी ।  लकडाउनको अवधि बढेसँगै सङ्खुवासभामा कृषकले आफ्नो आम्दानी बढाउन थालेका छन् । कोरोना भाइरसको सङ्क्रमणले बजार क्षेत्र सुनसान र हिँडडुलमा समस्या भए पनि गाउँमा भने कोरोना सङ्क्रमणले कृषकलाई आफ्नो पेशामा समय दिन साथ दिएको सभापोखरी गाउँपालिका–२ का कृषक मानध्वज राईले बताउनुभयो ।

स्कूल क्याम्पस सबै बिदा छ । छोराछोरी सबै गाउँमै हुँदा खेतीपातीमा धेरै सहजता आएको भन्दै अहिले आफूसहित सपरिवार खेतबारीमै व्यस्त हुने गरेको जानकारी राईले दिनुभयो । आँप, लिची, केरा, कागती, सुन्तला, मेवा, भुइँकटहरलगायतका १०० भन्दा बढी फलफूलको बिरुवा लगाएको राईले बताउनुभयो । बेसार, अदुवा, सिमीलगायतका सागसब्जी रोपेर आम्दानीको स्रोत बढेको भन्दै कोरोना सङ्क्रमणले लामो समयदेखि आम्दानी नै लिन नसकिएको खेतबारीबाट समेत केही वर्षपछि राम्रो आम्दानी जुटाउन सकिने वातावरण तयार भएको राईको भनाइ छ । राईले परिश्रम, जैविक खानपिन र सरसफाइबाटै कोरोनालाई परास्त गर्न सकिने भन्दै कोरोनासँग डराएरभन्दा श्रम र पसिना बगाउन सके आर्थिक प्रगति हुनुका साथै रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाएर रोगलाई भगाउन सकिने धारणा राख्नुभयो ।

सभापोखरीका मानध्वज मात्रै होइन, सङ्खुवासभाका धेरै कृषकले लकडाउनको समयमा खेतीपातीबाट राम्रो आम्दानी बढाएका छन् । खाँदबारी–४ पाङ्माका दाजुभाइ गङ्गाराज र बलबहादुर कुलुङ राईले समेत लकडाउनले कृषकलाई राम्रो अवसर दिएको बताउनुभयो । उहाँहरुले आफ्नो सात रोपनी र छिमेकीसँग भाडामा लिएको दुई रोपनी गरी नौ रोपनी जग्गामा टमाटर, प्याज, काउली, सागलगायतका तरकारी बाली लगाउनुभएको छ । बाह्र वटा टनेलमा दाजुभाइले मिलेर लगाएको टमाटर, सागसब्जीलगायतका फलफूल किन्न उपभोक्ताहरु करेसाबारीमै पुग्ने गरेका गङ्गाराजले बताउनुभयो । रु पाँच लाखको लगानीमा शुरु गरेको तरकारी बाली खरिद गर्न र हेर्नका लागि स्थानीय उपभोक्ता, जनप्रतिनिधिसमेत पुग्ने गरेको र सहयोग गर्ने आश्वासनसमेत दिएकाले व्यावसायिकरूपमा कृषि पेशामा लाग्न थप हौसला जुटेको उहाँको भनाइ छ । लकडाउनका कारण अन्य जिल्लाबाट तरकारी फलफूल नआउँदा आफ्नो उत्पादनले राम्रो मूल्य र बजारसमेत पाएको भन्दै आफूले वर्षैपिच्छे धान खेती घटाउँदै व्यावसायिक फलफूल र सागसब्जी खेती बढाउँदै लैजाने योजना राखेको उहाँले बताउनुभयो ।

बजारतिर जताततै कोरोना भाइरसको आतङ्क बढेको छ । बाहिर बिनाकाम भौँतारिनुभन्दा कृषिमै समय दिन सकियो भने जीविकोपार्जन र आर्थिक अवस्थामा समेत सुधार ल्याउन सकिन्छ भन्ने कुरामा आफूहरुको विश्वास बढेको कृषक राईले बताउनुभयो । व्यावसायिक कृषिका लागि केही तालिम र सहुलियत ऋणको व्यवस्था हुने हो भने ठूलो सङ्ख्यामा विदेशिएका युवालाई आफ्नै गाउँमा रोजगारी दिलाएर उनीहरुको आयस्तर उकास्न सकिने राईको भनाइ छ ।

यता खाँदबारी–२ चेवाका तेजबहादुर कार्कीले पनि यस वर्ष तरकारी र फलफूल खेतीबाट राम्रो आम्दानी लिएको बताउनुभयो । केही वर्षअघिदेखि व्यावसायिक तरकारी खेतीमा संलग्न कार्कीले पाँच रोपनी जग्गामा काउली, साग, गाजर, टमाटर, काँक्रो सिमीलगायत सागसब्जी खेती गर्दै आउनुभएको छ । अघिल्लो वर्षदेखि नै व्यावसायिक कृषिमा लाग्नुभएका उहाँले यस वर्ष कोरोनाका कारण गरिएको लकडाउनको समयमा तरकारी खेतीबाट अघिल्ला वर्षभन्दा राम्रो आम्दानी लिएको बताउनुभयो । यातायातको सुविधासमेत थपिएकाले कार्कीले आफ्नो उत्पादन ट्र्याक्टरमार्फत पनि स्थानीय मानेभञ्ज्याङ र खाँदबारी बजारसम्म बिक्रीका लागि लैजाने गरेको बताउनुभयो । शारीरिक श्रमसँगै खेतबारीको स्याहारसुसार गर्दा परिवार खुशी रहेको र मासिकरूपमा मल बीउको खर्च कटाएर रु ५० हजारभन्दा आम्दानी गरिरहेको कार्कीको भनाइ थियो ।

गत वर्ष उत्पादनले कम मूल्य पाउने, बिक्री गर्न समस्या हुने भए पनि यस वर्ष आफूले सबै उत्पादन सहजरूपमा बजारमा बिक्री गर्न सकेको भन्दै कृषकलाई उँभो लगाउन र व्यावसायिक कृषिमा आकर्षण गर्न स्थानीय पालिकाहरुले योजना अघि सार्नुपर्ने धारणा राख्नुभयो । उहाँले स्थानीय उत्पादनलाई प्रतिस्पर्धी बनाउन सरकारले मल र बीउमा अनुदानको व्यवस्था गर्दै कृषि बीमाको व्यवस्थालाई सहज पार्नुपर्नेमा जोड दिनुभयो ।

लकडाउनका कारण गाउँ फर्किएका जनशक्ति कृषि पेशामा संलग्न हुँदा यस वर्ष सङ्खुवासभाको कृषि उत्पादनमा वृद्धि हुने कृषि ज्ञान केन्द्र सङ्खुवासभाले जनाएको छ । ज्ञान केन्द्रका प्रमुख गोविन्दप्रसाद आचार्यले सङ्खुवासभामा कूल खेतीयोग्य जमिन ३१ हजार ५८६ हेक्टरमध्ये १३ हजार ८५१ हेक्टर धान खेतीयोग्य जमिन रहेको जानकारी दिनुभयो । गत वर्ष १३ हजार ३९४ हेक्टरमा धान खेती गरिएकामा यस वर्ष थप २७७ हेक्टर गरी १३ हजार ६७१ हेक्टरमा धानखेती गरिएको ज्ञान केन्द्रका प्रमुख आचार्यको भनाइ छ । कोरोना सङ्क्रमण फैलन सक्ने भन्दै सरकारले लगाएको लकडाउनका कारण जिल्लाबाहिर रहेको जनशक्ति घर फर्किएको, बर्सातले राम्रो साथ दिएको र अधिकांश परिवारका सदस्य अहिले खेतीपातीमा संलग्न हुने वातावरण बनेकाले यस वर्ष कृषि उत्पादनमा समेत उल्लेख्य वृद्धि हुने आँकलन गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख आचार्यले जानकारी दिनुभयो ।– रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.