भदौ १६, काठमाडौं । कतारबाट मंगलबार २६४ जना नेपाली स्वदेश फर्किएका छन् । उनीहरु हिमालय र नेपाल एयरलाइन्सको दुई उडानबाट उनीहरु नेपाल आएका हुन् । हिमालय एयरलाइन्समा १२६ जना र नेपाल एयरलाइन्समा १३८ जना नेपाली स्वदेश फर्किएका हुन् ।
उनीहरुलाई नेपाली सेनाले व्यवस्थापनमा प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिङ सेन्टरहरुमा लगिएको कोभिड –१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । उनीहरुलाई होल्डिङहरुमा व्यक्तिगत विवरण संकलन, स्वास्थ परीक्षणलगायतका प्रक्रिया पूरा गरी सम्बन्धित प्रदेशहरुको समन्वयमा क्वारेन्टिनहरुमा पठाउने तयारी भइरहेको केन्द्रले जनाएको छ ।
५ महिनापछि खुल्यो अन्तर्राष्ट्रिय उडान
कोभिड १९ का कारण सरकारले गत चैत ११ देखि आन्तरिक एवं बाह्यतर्फको नियमित हवाई उडान स्थगित गरेको थियो । सरकारले मंगलबार भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको अनुमति दिएको छ । भदौ ४ गतेको मन्त्रिपरिषद् बैठकले पीसीआर परीक्षण सहज भएका देशहरूबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको हो । पीसीआर परीक्षण सहज भएका मुलुकहरू मलेसिया, यूएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, क्यानाडा र युरोपेली मुलुकबाट स्वदेश फर्किने नेपाली नागरिकलाई सरकारले अनुमति दिएको हो । यस्तै नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्रसंघका कर्मचारी लगायतलाई पनि नेपाल ल्याउने गरी नियमति उडान गर्न अनुमति दिएको छ ।


