लोकसेवा : ९ हजारकाे काेटामा २ लाख ३५ हजारकाे आवेदन, अझै बढ्ने

असार ०७, काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि खुला गरेका विभिन्न पदमा आवेदन आउने क्रम उत्साहजनक रूपमा बढेको छ । लोकसेवा आयोगकाे अनुसार सुक्रबार साँझ ५ बजेसम्म २ लाख ३४ हजार ८९२ जनाको आवेदन दर्ता भएको छ ।

जसअन्तर्गत खुलातर्फ २ लाख ३२ हजार ११३, जनजातितर्फ २५ हजार ५७४, मधेसीतर्फ १४ हजार ९८०, दलिततर्फ १ हजार ८२८, अपांगता भएकातर्फ ९६ र पिछडिएका वर्गतर्फ ७५ जनाको आवेदन दर्ता गराएको लोकसेवा आयोगले जनाएको छ ।

आवेदनबापत ५ करोड २० लाख ५६ हजार ७ सय रुपैयाँ राजस्व संकलन भएकाे पनि आयोगले जनाएकाे छ ।

अझै बढ्ने

लाेकसेवाकाे आवेदन फारम भर्ने समय तीन दिन भएकाले अझै याे संख्या बढ्ने अनुमान गरिएकाे छ । गत जेठ १५ गतेदेखि असार ३ गतेसम्मका लागि ५१५ स्थानीय तहका लागि आयोगले विभिन्न नौ हजार १६१ पदका लागि आवेदन खुलाएको थियाे । तर प्राविधिक समस्याका कारण आवेदन दिन नपाएको गुनासोपछि आयोगले समयावधि आगामी १० असारसम्मका लागि थप गरेको छ ।

सर्भरमा समस्या देखिँएको कारण अन्तिम मितिमा स्थानीय तहका लागि आवेदन दिने आवेदक समस्या परेपछि गत मंगलबार अर्थात असार ३ गतेसम्म मंगलबार बसेको आयोगको बोर्ड बैठकले असार १० गतेसम्म म्याद थप गर्ने निर्णय गरेको हो ।

आवेदकले भने अझै समस्या रहेको बताउँदै आएका छन । लोकसेवाको फारम भर्ने सर्भरमा समस्या देखिएपछि ‘फारम भर्न नपाएको’ भन्दै विद्यार्थीहरूले आन्दोलन समेत गरेका थिए।

विवादमै लाेकसेवा
आयोगले खुलाएको विज्ञापन सम्बन्धमा परेको रिटमाथि अन्तरिम आदेश दिने कि नदिने भन्ने विषय टुंगाे लग्न सकेकाे छैन । यही बुधबार न्यायाधीशद्वय हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले विज्ञापनका सम्बन्धमा परेका सबै रिटको फाइल एक साथ पेश गर्न सर्वोच्चले आदेश दिएको छ ।

लोकसेवाले खुलाएको विज्ञापनलाई खारेज गर्ने वा नगर्ने भन्ने विषयमा संसदिय समितिमा समेत जुहारी नै चलेकाे थियाे ।

शुरूमा अधिवक्ता विकास ठाकुरले लोक सेवाको विज्ञापन समावेशी समानुपातिक सिद्धान्तविपरीत रहेकाले खारेजीको माग गर्दै रिट दायर गरेका थिए । लोक सेवाबाहेक अरूले कर्मचारी भर्ना लिन नमिल्ने भन्दै अर्को रिट पनि परेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.