माघ १३, खस्यौली। बुटवलको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई लाभांश नदिने भएको छ ।
आर्थिक वर्ष २०७४÷७५ मा मर्जरको बेला कायम रहेको सञ्चित नोक्सानीको अंश पूरा नभएकाले लाभांश नदिने भएको हो । “शेयरधनी सदस्यलाई लगानीको उचीत प्रतिफल दिनुपर्छ भन्ने विषयमा संस्थाको सञ्चालक समिति र व्यवस्थापन सदैव प्रतिबद्ध तर सञ्चित नोक्सानी कम हुँदै गए पनि पूरा नभएकाले लाभांश दिन सकिएको छैन,” संस्थाका अध्यक्ष मणिकरत्न शाक्यले भन्नुभयो । उहाँले संस्थाको पूँजी वृद्धिका लागि पचास प्रतिशत हकप्रद शेयर जारी गर्ने कार्य अघि बढाइएको उल्लेख गर्दै हकप्रद शेयर जारीपछि चुक्ता पूँजी रु ९८ करोड २५ लाख पुग्ने बताउनुभयो । संस्थाको चुक्ता पूँजी रु ६५ करोड ५० लाख रहेको छ ।
आन्तरिक राजश्व कार्यालय बुटवलका कर अधिकृत अर्जुन ढकालले लगानीकर्तालाई लक्ष्य निर्धारण गरेर प्रतिफल दिन आग्रह गर्दै प्रशासनिक खर्च बढी भएकामा चिन्ता व्यक्त गर्नुभयो ।शेयरधनी कमल तिवारीले लगानीकर्ताले जहिले पनि बोनसको आश राख्ने उल्लेख गर्दै संस्थाले उत्पादनमूलक क्षेत्रमा लगानी गरेको देखिएन भन्नुभयो । शेयरधनी अम्बिकादेवी अमात्यले प्रतिफल दिन नसक्नु दुःखद विषय भएको बताउनुभयो । संस्था मर्जर हुँदाको समयमा कूल रु ७६ करोड ६१ लख १५ हजार सञ्चित नोक्सानी रहेकामा मर्जपछि २०७५ साल असारसम्म संस्थाको कूल सञ्चित नोक्सानी रु २५ करोड २६ लाख ४४ हजारमा सीमित हुन आएको छ । गत वर्षको तुलनामा मुनाफामा १२.६५ प्रतिशतले वृद्धि भएको छ ।

