समाज रुपान्तरणका लागि शैक्षिक संस्थालाई बदल्न जरुरी छ – गाउँ प्रमुख

भिम लामा ।
पुस २२, काठमाडौं । काभ्रे जिल्लाका रोशी गाउँपालिका प्रमुख डि।बी लामाले समाज रुपान्तरणका लागि पहिला शैक्षिक संस्थालाई बदल्न जरुरी रहेको बताएका छन् ।

गाउँपालिकाको वडा–५ स्थित ठोकर्पा सिसाखानीमा ७ कोठे नवनिर्मित विद्यालय भवन हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष लामाले समाजको परिवर्तनमा शिक्षाको ठूलो भूमिका रहेको उल्लेख गर्दै सबै शैक्षिक संस्थाहरुले व्यवहारिक र नयाँ शैक्षिक पद्दातिबाट पठनपाठान गर्नुपर्ने बताए । अध्यक्ष लामाले गाउँपालिकाभित्र रहेको सामुदायिक शैक्षिक संस्थाहरुको गुणस्तरलाई वृद्धि गराउन गाउँपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै गाउँपालिकामा कोही पनि बालबालिकाहरुलाई कुनै पनि बहाना गरी शिक्षाबाट बञ्चित नराख्न अभिभावकहरुलाई आग्रह गरे ।
शुक्रबार श्री गणेश आधारभुत विद्यालयका लागि हिमाली गाउँ संरक्षण नेपालको सहयोगमा निर्मित भवनको हस्तानतरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष लामाले समाज विकासका लागि राजनीतिक पार्टीलाई एक ठाउँमा राखेर सबै एक ठाउँमा उभिनुपर्ने बताए । गाउँठाउँको विकास र परिवर्तनमा सबैको सहभागिता भएमा मात्र विकासले गति लिने उनको तर्क थियो । साथै विद्यालय भवन निर्माणका सहयोग जुटाएको भन्दै हिमाली संरक्षण नेपाललाई रोशी गाउँपालिकाको तर्फबाट धन्यवाद समेत दिए ।

त्यस्तै कार्यक्रममा विशेष अतिथिका रुपमा पुगेका शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले शैक्षिक संस्थाहरुमा अभिभावक र समुदायको सहभागिता अनिवार्य रुपमा हुनुपर्ने बताए । निर्देशक गौतमले शैक्षिक संस्थामा समुदायको सहभागीता नहुदा सुधारमा समस्या आउने बताउँदै अन्य संघसंस्थाले सहयोग गरेपनि स्थानीयको श्रमदान तथा जनसहभागिता महत्वपूर्ण रहेको औल्याए ।

विद्याललय भवन हस्तान्तरण गर्दै हिमाली गाउँ संरक्षण नेपालका अध्यक्ष तथा समाजसेवी निरध्वज लामाले समाजमा शैक्षिक पूर्वाधारको अभावबाट कुनै पनि बालबालिकालाई समस्या नआओस भन्दै आफ्नो अभियान निरन्तरता दिदै आएका बताए । अध्यक्षमा लामाले बालबालिकाको नैसर्गिक अधिकारलाई कुण्ठित नपार्न अभिभावकलाई समेत आग्रह गरे । उक्त ७ कोठे विद्यालय भवन हस्तान्तरण गर्दै निर्माण कार्यमा रु. ५० लाख खर्च भएको विवरण समेत सार्वजनिक गरे । काभ्रेकै ४ स्थानमा विद्यालय भवनहरु निर्माण सम्पन्न गर्दै हस्तान्तरण गरिरहेको बताए । ग्रामिण भेगका सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था सुधार गर्नका लागि आफु निरन्तर लागि परेको बताउँदै उक्त विद्यालयमा भविश्यमा पनि आफ्नो संस्थाको साथ सहयोग रहने प्रतिवद्धतता व्यक्त गरे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.