प्रारम्भ खबर ।
पुस १९, काठमाडौं । काभ्रेपाल्चोक जिल्लाको तेमाल गाउँपालिकामा श्री जनज्योती माध्यमिक विद्यालयलाई वुधबार नवनिर्मित ८ कोठे भवन हस्तारण गरिएको छ ।

गाउँपालिका स्थित वडा–८ भोज्र्याङमा रहेको उक्त विद्यालयलाई हिमाली गाउँ संरक्षण नेपालद्वारा ५६ लाख बराबरको भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तारण गरेको हो । २०७२ को भूकम्पले क्षतिग्रस्त विद्यालयमा विद्यार्थीहरुको पठनपाठान अवरुद्ध भएपछि सोही विद्यालयका पूर्व विद्यार्थी तथा संगीतकार एवम् गायक विश्व दोङको अगुवाईमा हिमाली गाउँ संरक्षण नेपालको सहयोगमा विद्यालय भवन निर्माण सम्पन्न गराईएको हो ।
प्रमुख अतिथि शिक्षा विकास निर्देशनालय प्रदेश नं. ३ का का. मु. निर्देशक दिनेश कुमार श्रेष्ठ र हिमाली गाउँ संरक्षण नेपालका अध्यक्ष निरध्वज लामाले संयुक्त रुपमा उद्घाटन तथा हस्तारन्तरण गरिएका हुन् । कार्यक्रममा बोल्दै का.मु. निर्देशक श्रेष्ठले हरेक शैक्षिक संस्थाले विद्यार्थीहरुको पठनपाठनको सीपमा वृद्धि गराउन प्रयोगात्मक र अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने बताए । विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक सुधार कार्यमा विद्यालय व्यवस्थापन, शिक्षक तथा अभिभावकको महत्वपूर्ण भूमिका रहेको बताउँदै समयानुकुल आफ्नो बालबच्चा अध्ययन गरिने संस्थामा आउनेजाने काम गर्न अभिभवकलाई आग्रह गरे । निर्देशक श्रेष्ठले भूकम्पले क्षति पु¥याएका हरेक शैक्षिक संस्था तथा मानव घरहरु अव सरकारको मापदण्डअनुरुप बलियो बनाउनुपर्ने र करिब १ वर्षभित्र सबै भूकम्पले भत्केका विद्यालयहरुको पुर्ननिर्माण कार्य सम्पन्न हुने स्पष्ट पार्दै सरकारले त्यस कार्यलाई निरन्तर दिईरहेको बताए ।

त्यस्तै काभ्रेका जिल्ला शिक्षा अधिकारी डिग बहादुर राईले कानुनी संक्रमणले गर्दा शैक्षिक संस्थाहरुको व्यवस्थापनमा केही अन्यौल सिर्जना भईरहेको बताए । नयाँ संरचनाहरु गठन हुने क्रममा रहेको उल्लेख गर्दै शिक्षा क्षेत्रको नियमवलीमा अन्यौलता रहेता पनि संक्रमणलाई सही रुपमा सदुपयोग गर्दै विद्यार्थीहरुको वृद्धि विकासमा जोड दिन आग्रह गरे । संरचनागत परिवर्तनका कारण सहजीकरण गर्ने भूमिका निभाउँदै जिल्ला शिक्षा कार्यालयले सक्ने सहयोग गरिने बताए । तत्कालिन जिल्ला शिक्षा कार्यालयले गर्ने भूमिका अव स्थानीय तहमा आईसकेको जिकिर गर्दै शैक्षिक पूर्वाधार तथा अन्य विकासका कार्यमा संक्रमण नभनि उल्लेख्य भूमिका निभाउन स्थानीय सरकारलाई आग्रह गरे ।

नवनिर्मित विद्यालय भवन हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्दै हिमाली गाउँ संरक्षण नेपालका अध्यक्ष निरध्वज लामाले नेपाली समाजमा शिक्षा क्षेत्रको आवश्यकतालाई औल्याउँदै शिक्षामा देखिएका समस्याहरुलाई सुल्झाउन आफु निरन्तर लागि परेको बताए । सोही अवसरमा अध्यक्ष लामाले शिक्षाको महत्वलाई समुदायका सबैले अंगिकार गर्दै सामुदायिक शिक्षण संस्थालाई सझा सम्पत्तिको रुपमा हेर्नुपर्ने बताए । उनले भवन निर्माणसंगै आवश्यक परेको समयमा आफ्नो संस्थालाई सहयोग माग्न आग्रह गरे ।


