पुस १६, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले मुलुकको अर्थतन्त्रको मेरुदण्ड मानिने पर्यटन उद्योगको विकास, विस्तार र प्रवद्र्धनका लागि निजी क्षेत्रसँगको सहकार्यमा जोड दिनुपर्ने बताएका छन् ।
राष्ट्रिय पर्यटन संस्था नेपाल पर्यटन बोर्डको सोमबार राजधानीमा आयोजित २०औं वार्षिकोत्सवमा पर्यटन मन्त्री अधिकारीले निजी क्षेत्रसँग हातेमालो नगरे पर्यटन क्षेत्र अगाडि बढ्न कठिन हुने धारणा राखे । “त्यसकारण पर्यटन क्षेत्रलाई अझै उचाइमा पुर्याउन र सरकारले घोषणा गरेको २० लाख पर्यटक ल्याउने ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान सफल बनाउन निजी क्षेत्रसँग सहकार्य र हातेमालो गर्नैपर्छ,” मन्त्री अधिकारीले भने, “यसो गर्न सके हाम्रो पर्यटन क्षेत्रको भविष्य उज्ज्वल हुनेमा निश्चिन्त भए हुन्छ ।”
मुलुकको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा थप परिचित गराउन एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको सुधारदेखि आकर्षक बनाउने काम भइरहेको भन्दै उनले भैरहवामा स्तरोन्नति भइरहेको गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम तीव्र गतिमा अगाडि बढिरहेको जानकारी दिए । वार्षिकोत्सवमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विनाशकारी भूकम्पपछि तङ्ग्रिएको मुलुकको पर्यटन क्षेत्रलाई थप अगाडि बढाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए । “निजी क्षेत्रको सहयोग, सहकार्य र प्रोत्साहन नभएको भए पर्यटन बोर्डले यति लामो यात्रा पार गर्न अवश्य सक्थेन,” जोशीले भने, “पर्यटन व्यवसायीले भविष्यमा पनि यसैगरी सहकार्य गर्दै गए यो क्षेत्रले धेरै ठूलो फड्को मार्ने निश्चित छ ।”

