सर्वोत्कृष्ट खेलाडीलाई जनही १ लाख

पुस ८, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा यसै महिना हुने एनएनआइपिए उत्कृष्ट खेलाडी सम्मान कार्यक्रममा सर्वोत्कृष्ट घोषित हुने एक महिला र एक पुरुष खेलाडीले जनही १ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् ।

ललितपुर महानगरपालिकास्थित मंगलबजारको संग्रहालयमा हुने कार्यक्रममा सर्वोत्कृष्ट हुने पुरुष र महिला खेलाडीलाई दिइने नगद पुरस्कार जनता बैंकले उपलब्ध गराउने छ । बैंक र आयोजक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघबीच पुरस्कार प्रायोजन सम्झौतामा आइतबार हस्ताक्षर भयो । बैंकका तर्फबाट सहायक सिईओ अजय मिश्र र खेलाडी संघका तर्फबाट अध्यक्ष दीपक श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार बैंकले आगामी पाँच वर्षसम्म खेलाडी संघलाई सर्वोत्कृष्ट खेलाडी पुरस्कारका लागि २ लाख रुपैयाँ उपलब्ध गराउनेछ ।

खेलाडी संघका अध्यक्ष श्रेष्ठले बैंकको यो सहकार्यबाट खेलाडीहरुलाई विशेष प्रोत्साहन मिलेको बताए । ‘अन्तर्राष्ट्रिय जगतमा देशको नाम उँचो राख्न सधै रगत पसिना बगाउने खेलाडीलाई प्रोत्साहित गर्ने उद्देश्यमा संघले लामो समयदेखि वर्ष खेलाडी सम्मान कार्यक्रम आयोजना गर्दै आएको छ । यसपालीदेखि थप गरिएको सर्वोत्कृष्ट खेलाडी पुरस्कारका लागि जनता बैंकको साथ पाउँदा हामी उत्साहित बनेका छौं,’ श्रेष्ठले भने, ‘खेलकुदको विकासमा व्यावसायिक प्रतिष्ठानहरुबाट मिल्ने यस्तो साथले ठूलो भूमिका खेल्छ । पाँच वर्षपछि पनि जनता बैंकसँगको सहकार्यले निरन्तरता पाउने हामीले विश्वास लिएका छौं ।’

यसैगरी बैंकका सहायक सिईओ मिश्रले देशको इज्जत प्रतिष्ठा उँचो राख्ने खेलाडीहरुलाई प्रोत्साहित गर्ने कार्यक्रममा जोडिन पाएकोमा खुसी व्यक्त गर्दै भने, ‘यो अवसरका लागि हामी नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघलाई धन्यवाद दिन चाहन्छौं । नेपाली खेलकुदको विकासमा प्रत्यक्ष रुपमा सहयोग पुग्ने यस्ता कार्यक्रममा बैंक सधै सहयोगका लागि तत्पर छ । क्षमतावान खेलाडी आर्थिक अभावमा खेल्न नस्कने हुनु हुँदैन, जनता बैंकले सहयोग गर्छ । विदेशमा नेपालको झण्डा बोक्ने खेलाडीलाई आर्थिक अभाव हुनु हुँदैन । शैक्षिक क्षमता भए जनता बैंकले जागिर दिन्छ ।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.