असोज २९, काठमाडौं । महानगरीय प्रहरी परिसर वृत्त बौद्धले चाडपर्वको समयमा हुने जुवातास, अवैध मदिरा, लागुऔषध र गुण्डागर्दीविरुद्ध सक्रियता बढाएको छ । चाडपर्वको समयमा बढ्न सक्ने सम्भावित अपराधलाई मध्यनजर गर्दै प्रहरी सक्रियता बढाइएको हो ।
पछिल्लो ५ दिनमा बौद्ध प्रहरीले जुवातास, कौडा, अवैध मदिरा गरी आधा दर्जन अपरेसन गरेको छ । काठमाडौंमा सुरक्षाका दृष्टिकोणले नयाँबसपार्क, चाबहिल, बौद्ध, ठमेल सुरक्षाका कारणले संवेदनशील क्षेत्र मानिँदै आएका छन् । सोमबारमात्रै जोरपाटीबाट कौडा खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कान्छा शेर्पा, टासी शेर्पा, श्रीराम लामा, श्याम लामा, बालकृष्ण सुवेदी, नुर्बु शेर्पा, विजय तामाङ, सन्दीप गुरुङ, कारसाङ लामा र पासाङ लामा पक्राउ परेका छन् । कामी शेर्पाको घरमा कौडा खेलिरहेका उनीहरुको साथबाट १ लाख १५ हजार ४ सय ४५ नगद रुपैयाँसमेत बरामद भएको भएको छ । यस्तै आइतबारमात्रै गोकर्णेश्वर नगरपालिका ८ मा ओखर (पैसाको हारजीत) हुने खेल खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नरेन्द्र चन्दका अनुसार प्रहरीले ठूलो मात्रामा अवैध घरेलु मदिरा पनि नष्ट गरेको छ । चाडपर्वको समयमा आफूलाई असुरक्षित महसुस भए वा ठगिएको आभास भए प्रहरीलाई खबर गर्न पनि डिएसपी चन्दले आग्रह गरे । चाडपर्वको समयमा अनावश्यक मदिरा सेवन गरेर यात्रा नगर्न, भीडभाड हुने स्थानमा गरगहना लगाएर हिँड्दा सतर्कता अपनाउन पनि प्रहरीले आग्रह गरेको छ ।

