असोज २८, काठमाडौं । कांग्रेसका नेता चक्र बास्तोलाको निधन भएको छ ।
६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका नेता बास्तोलाको शनिबार राति निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउसो साढे १ बजेदेखि ४ बजेसम्म बास्तोलाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिने भएको छ ।
बास्तोलाको निधन शनिबार राति ९ बजेर २० मिनेट जाँदा भएको थियो । शनिबार चिकित्सकको टोलीले बास्तोलालाई पुनः मस्तिष्कघात भई टाउकोमा रक्तस्राव भएको र फोक्सोमा पनि पानी जमेकाले पुनः उपचार सम्भव नभएको बताएका थिए । २०६९ सालमा मोरङमा भएको कार्यक्रममा सहभागी हुँदा नेता बास्तोलालाई मस्तिष्कघात भएको थियो । त्यसयता उनी अचेत अवस्थामा थिए । उनको भारतका विभिन्न अस्पताल र नेपालका अस्पतालमा उपचार गरिएको थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धासमेत रहेका बास्तोला भारतका लागि नेपाली राजदूत र परराष्ट्रमन्त्रीसमेत भएका थिए ।

