राजधानीका टोलटोलमा ‘मिनिक्यासिनो’ शैलीमा जुवाखाल फस्टाउँदै

असोज २७, काठमाडौं । दसैँ सुरु भएसँगै राजधानीका टोलटोलमा ‘मिनिक्यासिनो’ शैलीमा जुवाखाल फस्टाएका छन् ।

क्यासिनोकै शैलीमा चलाइएका जुवाखालमा दैनिक लाखौँ हारजित हुने गरेको छ । गत १९ असोजमा प्रहरीले छापा हानेको मूलपानीको जुवाखाल पनि एक मिनिक्यासिनो नै हो । प्रहरीले छापा मार्ने क्रममा तीन तलाबाट हामफालेर भाग्न खोज्दा दुई जुवाडेको ज्यान गएको थियो । उक्त घटनामा पक्राउ परेका २४ जनालाई थुनामा राखेर प्रहरीले कारबाही अघि बढाएको छ । पक्राउ परेका मध्ये धेरैजना पटक–पटक पक्राउ परेका पेसेवर जुवाडे भएको काठमाडौं परिसरका डिएसपी मोहन थापाले बताए ।

क्यासिनोमा नेपालीलाई प्रवेशमा कडाइपछि सुरु भएका जुवा अखडा दसैँ नजिकिएपछि फस्टाएका हुन् । त्यस्ता जुवाखालमा म्यारिज खेल धेरै हुने गर्छ । कतिपयमा कौडा चल्छ  । चाडपर्वमा यसरी संगठित रूपमा सञ्चालन हुने जुवाघरहरू निगरानीमा रहेको प्रहरीले जनाएको छ । ‘दसैँ सुरु भएपछि जुवा अखडा बढेका भन्ने सूचना आएका छन्,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले भने, ‘सूचनाका आधारमा निगरानी गरिरहेका छौँ ।’

भक्तपुरमा हाल तीन वटा पेसेवर जुवाडे समूह प्रहरी हिरासतमा छन् । भक्तपुर परिसरका प्रहरी प्रमुख एसपी हिमालय श्रेष्ठका अनुसार जगाती क्षेत्रबाट दुई र बोडे क्षेत्रबाट एउटा समूह पक्राउ परेका हुन् । राजधानीमा गोप्य जुवाघरहरू गल्ली–गल्लीमा छन् । एकान्त स्थानका घर, अपार्टमेन्ट, रिसोर्ट तथा होटेलमा जुवा खेलाइने गरिएको छ । कतिपय स्थानमा प्रहरीको मिलेमतोमा अवैध मिनिक्यासिनो सञ्चालनमा छन् भने कतै प्रहरीले छापा हाने पनि छुटेपछि पुनः सञ्चालन हुने गरेको छ । दुई वर्ष अघि ठमेलको नेपालय होटेल तथा नक्सालको गणपति होटेलबाट ठूला जुवाडे पक्राउ परेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.