रौतहटमा चारजना भारतीय नागरिकसहित ६ जनालाई पक्राउ

असोज २६, रौतहट । सीमावर्ती क्षेत्रमा शंकास्पद गतिविधि गरिरहेको अवस्थामा रौतहट प्रहरीले चारजना भारतीय नागरिकसहित ६ जनालाई पक्राउ गरेको छ ।

बिहीबार राति १ बजेको समयमा प्रहरीको गस्ती टोलीले नेपाल भारत सीमावर्ती क्षेत्रको परोहा नगरपालिका मोतिपुरबाट उनीहरुललाई एउटा चाइनिज पेस्तोलसहित पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारत बिहार मोतिहारीको गोकुल ग्राम पञ्चायतका २२ वर्षीय कमल साह, घोडासन श्रीपुरका ३२ वर्षीय राकेश पासवान, २८ वर्षीय सन्दीप पासवान र २६ वर्षीय अवधेश चौरसिया तथा धनुषा जिल्लाको फुलबरिया गाउँपालिका १ का ३१ वर्षीय रोहित साह र काभ्रेपलाञ्चोक जिल्ला तेमालका २५ वर्षीय मनोज तामाङ रहेको रौतहट प्रहरीका डीएसपी महेन्द्र मरासिनिले जानकारी दिए ।

पक्राउ परेकाहरु मध्ये धेरै बाहिरका भएकाले उनीहरुले ठूलै घटनाको योजना बनाएको हुन सक्ने प्रहरीको आशंका छ । प्रहरीले उनीहरुले प्रयोग गरेको तीन वटा मोटरसाइकलसमेत बरामद गरेको छ । प्रहरी नायब निरीक्षक (सई) कृष्णकुमार बस्नेतको नेतृत्वमा रहेको गस्ती टोलीले परोहा नगरपालिका ८ मोतिपुर नजिक दशगजा क्षेत्रमा गाँजा सेवन गर्दै बसेको अवस्थामा उनीहरुलाई पक्राउ गरे थियो ।

प्रहरी गस्ती टोलीलाई देखेपछि भाग्न खोज्दा नियन्त्रणमा लिइएको रौतहट डीएसपी महेन्द्र मरासिनिले बताए । उनीहरुको साथबाट पेस्तोलसहित एक थान म्यागजिन पनि बारामद भएको प्रहरीले जनाएको छ । चाडपर्वको समयमा विशेष सुरक्षा योजना अन्तर्गत जिल्ला भरीनै सुरक्षा व्यवस्था कडा पारिएको तथा सोही क्रममा सीमावर्ती क्षेत्रमासेमत निगरानी बढाइएको प्रहरीले जानकारी दिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.