अनुरोध आमा……तिम्रो उदास अनुहार हेर्न नचाहने म, अब
तिम्रो रुवाईको आवाजले पनि विउँझन सक्दिनँ ।।
गुराँस जस्तै फुल्ने मेरो रहरहरु मृत्यु हुँदा
तिम्रा सबै सपनाहरुले मुच्र्छा खाएकी होलान,
होलान ति आँशुहरु निकै पश्चातापमा जो मेरो भविश्य फुल्ने पखाईमा थिएँ ।
मातृत्वले भरिएको तिम्रो मन, असहनीय पिडाले विचलित होला,
ति नयनहरुले मेरो प्रतिविम्बामा, जीवन्त अस्तित्व खोज्दै होलान्,
तस्बिर सहितको समवेदनाले तिम्रो वेचैन मन शान्त छैन होला ।
तर आमा….
मौनधारणको एक मिनेट समयमा तिमीले नरोइदिनु है
किनभने सान्त्वना दिने निहुँमा, अब तिमीकहाँ आउन सक्दिनँ म,
त्यसैले अब रुन विर्सिदेऊ है !
किनभने,
म कहिल्यै नउदाउने गरी अस्ताएको छु,
ति निर्मला अनि श्रेया जस्तो ।
साँच्चै आमा !
फक्रिने समयमा झरेको म, अब निमिट्यान्न भैसकेको छु ।
सानोमा मलाई काख लिएर, चक्लेट दिने साहसी अंकलबाट
हो आमा त्यसैले अब रुन विर्सिदेऊ है
किनभने,
तिम्रो उदास अनुहार हेर्न नचाहने म अब
तिम्रो रुवाईको आवाजले पनि विउँझन सक्दिनँ ।।
अनिसा श्रेष्ठ
(अंग्रेजी स्नाकत्तोर अध्ययानरत छात्रा)
आर.आर क्याम्पस, प्रर्दशनीमार्ग– काठमाडौं

