असोज २५, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेकाले त्यसका लागि ठूलो मात्रामा लगानी जरुरी रहेको बताएका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा बुधबार मन्त्री पुनसँग शिष्टाचार भेटका लागि पुगेको क्यानेडियन प्रतिनिधिमण्डलललाई मन्त्री पुनले देशभित्रै १० वर्षमा १० हजार मेगावट बिजुली आवश्यक रहेको बताए। नेपाल भ्रमणमा रहेको क्यानडाका सांसद ब्रेड ट्रोस्ट लगायतलाई मन्त्री पुनले नेपालको ऊर्जा ताथ भौतिक पूर्वाधारको क्षेत्रमा लगानी बढाउने वातावरण बनाइदिन आग्रह गरे। उनले नेपालमा लगानीको वातावरण बनेको भन्दै त्यसका लागि क्यानेडियन लगानीकर्तालाई प्रेरित गरिदिन सांसद ट्रोस्टलाई आग्रहसमेत गरे। “ऊर्जा मन्त्रालयले ५ वर्षमा पाँच हजार र १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने निकै महत्वकाङ्क्षी लक्ष्य राखेको छ, त्यसका लागि कामसमेत तीव्र रुपमा अघि बढिरहेको छ, हामीले यो लक्ष्य पूरा गर्न वैदेशिक लगानीको समेत आवश्यकता छ,” मन्त्री पुनले भने।
उनले केही समय भित्रै ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने भन्दै त्यसपछि ऊर्जामा नेपाल आत्मनिर्भर बन्ने जानकारीसमेत दिए। मन्त्री पुनले भारतसँग यसअघि नै ऊर्जा सहकार्यमा हस्ताक्षर भइसकेको र यही वर्ष मात्र चीन र बङ्गलादेशसँग पनि उक्त समझदारीमा हस्ताक्षर भएको बताए। उनले बङ्गलादेशले नेपालबाट ५०० मेगावाट र भारतले एक हजार ५०० मेगावाट बिजुली नेपालबाट किन्ने तयारी गरेको बताए।

