असोज २४, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रत्येक दिन बिहान ५ बजेदेखि राति ८ बजेसम्म ट्राफिक पुलिस र्यापिड स्क्वाड ‘टिआरएस’ योजना कार्यान्वयन गरेको छ ।
काठमाडौं उपत्यकाको सवारी आवागमनमा सहजता ल्याई ट्राफिक व्यवस्थापनलाई चुस्त राख्न साथै चाडपर्वका बेला हुनसक्ने सम्भावित सडक दुर्घटना न्यूनीकरणका लागि महाशाखाले बुधबारबाट उक्त कार्यको सुरुवात गरेको हो ।घटनास्थललाई ५ मिनेटभित्र नियन्त्रणमा लिई कानुनी कारबाही प्रक्रिया अगाडि बढनउनु ‘टिआरएस’ को मुख्य उद्देश्य रहेको छ । बुधबार महाशाखामा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले औपचारिक रुपमा सो कार्यको सुरुआत गरेका हुन् । काठमाडौंमा ६, ललितपुरमा २ र भक्तपुरमा २ गरी उपत्यकामा १० वटा सेक्टरमा उक्त समयमा ट्राफिक प्रहरी परिचालन गरिने महानिरीक्षक खनालले बताए ।
“हाललाई ५५ वटा मोटरसाइकल परिचालन गरिने छ । थप ४५ वटा केही महिनामै थप गरी १ सय मोटरसाइकले यो योजनालाई अझै मजबुत रुपमा कार्यान्वयन गरिने छ,” महानिरीक्षक खनालले प्रतिवद्धता व्यवक्त गरे । काठमाडौंको बबरमहल, मैतिदेवीमोड, कमलादी, नागपोखरी, भाटभटेनी, नागस्थान, जमल, गल्कोपाखा, भोटेबहाल, कुलेश्वर, बाफल, नैकाप, माछापोखरी, बाँसबारी, एकाडेमीमोड, गोपीकृष्ण, जोरपाटी, चावहिल, नयाँ वानेश्वर, तीनकुने, जडिबुटीमा बेस खडा गरी ‘टिआरएस’ योजनामा ट्राफिक प्रहरी परिचालन गरिने छ । यस्तै ललितपुरको सातदोबाटो, हरिहर भवन, एकान्तकुनामा र भक्तपुरको गठ्ठाघर चोक, नयाँ ठिमी र सल्लाघारीमा रहेका बेसमार्फत उक्त टोली परिचालन गरिने महाशाखाका एसएसपी बसन्त पन्तले जानकारी दिए ।
सवारी चालक अनुमतिपत्र प्राप्त प्रहरी हवल्दार तथा जवानहरुलाई ‘टिआरएस’का लागि खटाइने महाशाखाले जनाएको छ । यस्ता प्रहरीहरुलाई महाशाखामा १ दिने तालिम प्रदान गरी कार्यक्षेत्रमा खटाइएको हो । “प्रत्येक बेसबाट २ मोटरसाइकलमा १ जना ट्राफिक र १ जना जनपद प्रहरी परिचालन गरिने छ,” एसएसपी पन्तले भने, “टिआरएसमा खटिएका प्रहरीले ‘ट्राफिक पुलिस, टिआरएस’ अङ्कीत फ्लोरोसेन्ट ज्याकेटको प्रयोग गर्नेछन् ।” सम्पूर्ण सेक्टरको कमान्ड, व्यवस्थापन र दैनिक कार्यप्रगति विवरण व्यवस्थापन अधिकृत (सिप्रअ) बाट हुने महाशाखाले जनाएको छ ।

