प्रारम्भ विशेष फलोअपः
असोज २४, काठमाडौं । काठमाडौंको गोकर्णमा रहेको राष्ट्रिय सहिद तथा शान्ति पार्क (स्मारक) समयअवधिमा भौतिक संरचना निर्माण नहुँदा त्यसतर्फ जनचासो बढ्दै गएको छ । भौतिक निर्माण कार्य लगायत पार्क व्यवस्थापन समितिमै अनिमियतता भएको समाचार विभिन्न सञ्चार माध्यममा आएपछि सरकारको पनि ध्यान केन्द्रित हुन थालेको छ । काठमाडौं निर्वाचन क्षेत्र ३ अन्र्तगत गोकर्णेश्वर नगरपालिका जगडोलमा रहेको उक्त पार्कमा सरकारका मन्त्री र सञ्चार माध्यमहरुको ध्यान खिचिरहेको बेला जननिर्वाचित स्थानिय तहका जनप्रतिनिधि तथा सांसदहरु भने चासो नदिएको स्थानियवासीहरुको गुणासो रहेको छ ।
तत्कालिन शान्ति तथा पुनः निर्माण मन्त्रालय अन्र्तगत पर्ने उक्त पार्क रुपान्तरित मन्त्रालयअनुसार सहरी विकास मन्त्रालयमा आएको छ । कानुनी मापदण्डअनुरुप मन्त्री परिषदको बैठकले बनाएको पार्क निर्देशन समिति बोर्डका अध्यक्ष मन्त्री हुने भएकाले अहिले सहरी विकास मन्त्रालयमा मोहम्मद इश्तियाक राई रहेका छन् । मन्त्री राईले २३ गते (मंगलबार) मन्त्रालयमै तत्कालिन पार्क समितिका सदस्यहरुलाई बोलाएर अहिलेसम्मको प्रगति विवरण सहित रिपोर्ट बुझाउन निर्देशन दिएको छ । बैठकमा राष्ट्रिय सहिद पार्कलाई अगामी दिनमा कसरी लाने भन्ने सवालमा राष्ट्रिय सहिद पार्क निर्माण एवम् व्यवस्थापनका लागि मन्त्री स्तरिय बैठकबाट निर्माण भएको कार्य समिति खारेज भएको हुँदा राष्ट्रिय सहिद पार्क लगायत देशभरका विभिन्न सहिद पार्क एवम् स्मारकहरुलाई समेटिने गरी छिट्टै कार्य विधि निर्माण गर्नुपर्ने आवश्यकता औल्याउँदै विभागले एक कार्य विधि ड्राप्ट कमिटि बनाएको जानकारी गराएको छ । उक्त ड्राफ्ट कमिटिले २० दिन भित्र कार्यविधिको मस्यौदा तयार पारी मन्त्री मण्डलबाट स्कीकृत प्राप्त भएपछि मात्र सोहीवमोजम पार्क निर्माण व्यवस्थापन एवम् सञ्चालन हुने कुरा बैठकमा सहभागीलाई मन्त्री राईले निर्देशन गरेका छन् ।

तत्कालिन शान्ति तथा पुनः निर्माण मन्त्रालयले बजेट विनियोजन गरी आयोजना मार्फत निर्माण कार्य सञ्चालन हुदैं आएको राष्ट्रिय सहिद तथा शान्ति पार्क मन्त्रालय नै खारेज भएपछि सम्पूर्ण जिम्मेवारी सहरी विकास मन्त्रालयमा सरेको छ । सहरी विकास मन्त्रालयले मन्त्रीपरिषद्बाट कार्यविधि पास भए पश्चात मात्र सम्पूर्ण पार्कको रेखदेख, अनुगमन, निर्माण लगायत निर्णयअनुसार पार्क निर्माण कार्य अनिश्चितकालसम्म अलपत्र पर्ने सम्भावना बढेको छ । पूर्व स्वीकृत कार्य विधिअनुसार पार्क निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष सुर्दशन सिग्देल भने पार्कमा ११ वर्षदेखि कार्यरत कर्मचारीहरुलाई मन्त्रालयबाट बजेट आउँने भन्दै झुठा अश्वासन दिदै काम लगाउँदै आएका छन् । पार्क समितिका अध्यक्ष सुर्दशन सिग्देल र कोषाध्यक्ष हरिकृष्ण श्रेष्ठको संयुक्त नाममा सञ्चालन हुदै कोषको बैंक खाता कार्यविधि नै खारेज भएको अवस्थामा कारोबार गर्न मिल्ने वा नमिल्ने ? कानुनी समस्य खडा भएको छ । यस अवस्थामा चेक कारोबार सञ्चालन गरेमा अवैधानिक मानिन्छ ।
पार्क समितिका अध्यक्ष सिग्दलले विशिष्ट श्रेणीको सुविधा उपभोग गर्दै आएकोमा यस्तो संक्रमणकालिन अवस्थामा उक्त सुविधा लिनु कानुन सम्वत हुने या नहुने यो पनि प्रश्नमै अल्झिएको विषय हो । हुन त विशिष्ट श्रेणीको पदमा बहल हुन चाहिने न्यूनतम योग्यता पनि नपुगेको भन्ने जनगुणासो र विरोध नभएको होईन । बेला–बेलामा पार्कमा अनिमियतता गरेको, बाटो निर्माणदेखि सार्वजनिक जग्गा व्यक्तिको जग्गातर्फ घुसाएको, साविक गोकर्णेश्वर गा.वि.स.मा पार्क निर्माण गर्दा जबरजस्ती कपन गा.वि.स. को जग्गा अतिक्रमण गरेको, निर्माण व्यवसायीहरुसग कमिसन लिएको, पार्कको उत्तरतर्फको कम्पाउण्ड वालको फलामे जाली भत्काई जग्गा प्लटिङ गर्नेलाई बाटो दिएबापत मोटो रकम असुलेको जस्ता आरोप पनि बाहिर आएको छ । जनदबाब र मिडियाको निगारानी पश्चात उक्त बार रातारात आफैले वाईलिङ गरि जोडिएको दृश्यहरु पनि आईसकेको छ । यस क्षेत्रको स्थानिय तहको जनप्रतिनिधि तथा सांसदहरुलाई गुणासो पु¥याए पनि वास्ता नगरेकाले सिग्देलले हाल पनि कम्पाउण्ड वालको उत्तरतर्फको जाली खोलि जग्गा प्लटिङ गर्नेलाई ढुंगा माटो ओसारप्रसार गर्न दिइएको छ ।

यस्ता अनिमियतता गर्न पल्किएका अध्यक्ष सिग्देल कमिसनको कुरा नमिल्दा ठेगेदार र स्थानिय जनताबाट पटक–पटक झगडामा मुछिएको कुरा स्थानियवासीहरुले गरेका छन् । यसरी पार्कलाई कुनै सदस्यहरुसंग सल्लाह नगर्ने र आफ्नो नीजि कम्पनी जतिकै मनलाग्दो तरिकाले चलाउँदै आएका सिग्देलले अनावश्यक रुपमा विहान ६ बजेदेखि ९ बजे र वेलुका ६ देखि ९ बजेसम्म कार्यालय खोल्ने र गोप्य कार्य गर्ने, दिउँसो कार्यालय समयमा सधै मन्त्रालय गएको भनेर सूचनापाटीमा जनाउने गरेको प्रारम्भ खबरको विशेष टोलीले फेला परेको छ ।
सहिदपार्कको मोटर साइकल
प्रशासनिक तथा कार्यालय प्रयोजनका लागि ३ ओटा मोटसाईकल खरिद भएको खुल्न आएको छ । मिति २०६८ साल असार २ गते खरिद गरेको उक्त मोटरसाईकलमध्ये बा. ४५ प. ६८३३ नम्बरको मोटरसाईकल अध्यक्ष सिग्देलले सोही मितिदेखि प्रयोग गर्दै आएको छ । त्यस्तै बा. ४५ प. ६७८३ नम्बरको महासचिब त्रिलोचन पौडेलले सोही मितिदेखि चढ्दै आएको र पार्कमा २०७० साउन ७ गते फिर्ता बुझाएको तथ्यांक प्राप्त भएको छ । अर्को बा. ४५ प. ४२०७ नम्बरको मोटरसाईकल पनि खरिद गरेकै मितिदेखि पार्क सदस्य रविन्द्र के.सीले प्रयोग गरिएकोमा मिति २०७० साउन ४ गते कार्यालयमा फिर्ता गरेको बुझिएको छ । बा. ४५ प. ६८३३ र बा. ४५ प. ४२०७ हाल अध्यक्ष र पार्क कर्मचारी सुमन थापाले प्रयोग गर्दै आएको देखिन्छ भने बा. ४५ प. ६७८३ नम्बरको मोटरसाईकल २०७० साउन ७ देखि अध्यक्षले कार्यालय बाहिर आफू निकट व्यक्तिलाई प्रयोग गर्न दिई दूरुपयोग गरेको प्रष्ट खुल्न आएको छ ।
मोटरसाईकल मर्मत खर्च
उक्त पार्क कार्यालय प्रयोजनका लागि सरकारले उपलब्ध गराएको मोटरसाईकल पटक–पटक मर्मत गरिएको बिल सहित भरपई बुझाउँदै आएको छ । केही महिनाको नमूना खर्च मात्र हेर्ने हो भने त्यही मर्मतको खर्चले अर्को मोटरसाईकल लिन सक्ने अवस्था भरपाईबाट देखिन्छ ।
मोटरसाइकल नम्बर –१,
बा. ४५ प. ६८३३ नम्बरको मोटरसाईकल अध्यक्ष सुर्दशन सिग्देलले प्रयोग गर्दै आएको छ । २०७४ पुस महिनामा मात्र इन्धन बाहेक विभिन्न पार्टपुर्जा तथा मर्मतका नाममा रु. १७ हजार ३ सय ५० को खर्च विवरण पेश गरिएको छ । यो त नमूना खर्च मात्र हो । यति खर्च हुने सवारी साधन आवश्यकता कि विलासीता ?
मोटरसाईकल नम्बर –२
बा. ४५ प. ४२०७ नम्बरको मोटरसाईकल नाम नखुलेको पार्क प्रशासनभन्दा बाहिर व्यक्तिले प्रयोग गर्ने गरेको पाएको छ । उक्त मोटरसाईकल मर्मतका लागि खर्च रु १५ हजार ७ सय देखिएको छ । यो पनि २०७४ चैत महिनाको नमूना खर्च मात्र हो ।
मोटरसाईकल नम्बर–३,
बा. ४५ प. ६७८७ नम्बरको मोटरसाईकल कार्यालयमै रहेको जानकारी छ । उक्त मोटरसाइकल कर्मचारीले प्रयोग गर्ने तथ्यांकमा छ भने यसको पनि मर्मतका लागि मिति २०७४ माघ महिनामा रु.५ हजार ३ सय ५० खर्च भएको पाएको छ ।
पार्कबाट उठाईने टिकट शुल्क
पार्क घुमफिर गर्न आउनेहरुका लागि प्रवेश शुल्क लिने गर्छन् । प्रतिव्यक्ति प्रवेश शुल्क रु. १० लिने र हरेक वर्ष हुने कुशे औंशी पर्वमा पसल व्यवसायि गर्ने स्टलहरुसंग रु १ हजार उठाउने बोर्डको निर्णय रहेता पनि यस वर्ष प्रति स्टल रु. २ हजारका दरले विना निर्णय शुल्क उठाइएको तर पसल व्यवसायीलाई राती बत्ति, पानी, शौचालयको समेत राम्रो व्यवस्थापन नभएको र गैरकानुनी तरिकाले शुल्क असुल गरेकोमा व्यवसायीहरुको गुणासो रहेको छ ।
एक हप्ताभित्र पार्कको सम्पूर्ण रिर्पोट बुझाउन निर्देशन
यसरी नियमित उठाईने शुल्क बैंक दाखिला नगरी जथाभावी खर्च गर्ने गरेको स्थानीय एवम् पार्क भ्रमणमा आउनेहरुको गुणासो रहेको छ । यसै शन्र्दभमा सहरी विकास मन्त्रालयले एक हप्ताभित्र पार्कको सम्पूर्ण रिर्पोट प्रस्तुत गर्न अध्यक्ष सिग्देललाई निर्देशन समेत दिइएको छ ।

