विद्यालयमा चन्दा आतंक, अभिभावक मारमा

असोज २४, काठमाडौं । राजधानीका विद्यालयहरुमा अनेक थरीको चन्दा आतंक बढेको पाइएको छ । वर्षभरी नै कहिले चाडबाड, कहिले विपतका लागि राहत त कहिले विप्लव नेकपा वा अन्य दलसमेतको विद्यालयमा चन्दा आतंक मच्चाउने गरिरहेको सम्बद्ध सरोकारवालाहरुले बताउने गरेका छन् । तर, यी सबैखाले आतंकले विद्यालयभन्दा पनि बढी मार अभिभावकले खेप्नु परिरहेको छ ।

विद्यालयहरुले चन्दा दिएवापतको रकमसमेत विद्यार्थीबाटै उठाउने गरेका छन् । अभिभावक चन्दा वापतको रकम विद्यालयलाई बुझाउनुपर्ने बाध्यात्मक अवस्थामा रहेको पाइएको छ । राहतदेखि स्थानीय कार्यक्रम र सभा समारोह गर्दासमेत विद्यालयहरुमा चन्दा माग्नेहरुको दैनिक ओइरो लाग्ने गरेको विद्यालयका प्रतिनिधिहरुको कथन छ । एकान्तकुना ललितपुरस्थित अजय शिक्षा सदनको व्यवस्थापनका एक कर्मचारीका अनुसार विभिन्न कार्यक्रम भन्दै चन्दा माग्ने क्रम बढेको छ । ‘‘हामीले चन्दाको रकम पनि शिक्षक र विद्यार्थीबाटै उठाउनुपर्ने बाध्यता छ । किनकी विद्यालयमा ‘चन्दा’ भन्ने खर्चको शीर्षक नै छैन । ’’

चोभारस्थित मोर्डन इण्डियन स्कुलले केहीअघि भारतको केरलामा भएको बाढीमा राहत पुर्याउन अभिभावकसँग पैसा मागेर ल्याउन लगाइयो । रकम १ सयदेखि जति धेरै दिन सक्यो उति राम्रोसमेत भनियो । उक्त विद्यालयमा कक्षा ६ मा अध्ययनरत स्वीकृतिले बाबा प्रदीप दाससँग ५ सय रुपैयाँ मागिन् । पैसा नलगे मिसले गाली गर्ने भन्दै जिद्दी नै गरिन् । उनका बाबा दास भन्छन्, ‘‘बालबच्चाहरुलाई शिक्षकले निर्देशन नै दिएका हुन्छन् र बालबालिकाहरु त्यो निर्देशनबाट तर्सेको मैले अनुभूति गरेको छु, ।’’ ५ सय रुपैयाँ नदिएर उनले १ सय रुपैयाँ छोरीलाई दिएर पठाए । तर, त्यस्तो रकमको न विद्यालयले कुनै रसिद दिने गरेको छ न त कुनै चिट नै उपलब्ध गराउँछ । यस्तो सानोतिनो रकम विद्यालयले मागिरहने अनुभव उनले सुनाए ।

विभिन्न विद्यालयका व्यवस्थापनहरुले जनाएअनुसार चन्दा भन्ने खर्चको शीर्षक नै नहुने र सबै रकमको जोहो विद्यार्थीबाटै गर्नुपर्ने अवस्था रहेको छ । विद्यालयहरुसँग राहतका लागि मात्रै नभएर सांस्कृतिक कार्यक्रमलगायत विप्लव नेकपादेखि सरकारमा भएका दलका विभिन्न भ्रातृ संगठनहरुले समेत चन्दा माग्ने गरेका छन् । निजी विद्यालयहरुको छाता संगठन एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा भन्छन्, ‘‘वैज्ञानिक किसिमले विद्यालयहरुमा चन्दाको आतंक देखिँदैन र यति–उति देउ भनेर पनि कसैले भन्दैनन् तर विभिन्न कार्यक्रमको नाम लिएर चन्दा माग्ने गरिएको सुनिएको छ । ’’
उनले अहिले चाडबाडको नाममा विभिन्न कार्यक्रम गर्ने भनेर चन्दा दिन विद्यालयहरुलाई दबाब बढेको गुनासो आएको बताए । विद्यालयका प्रधानाध्यपकहरु चन्दा दिने कुरा अति भयो भनेर गुनासो लिएर आउने गरेको उनी बताउँछन् ।  विद्यालयले विद्यार्थीबाट उठाउने चन्दाबापतको रकमको विषयमा बोल्दै अध्यक्ष सापकोटा भन्छन्, ‘‘विद्यालयहरुमा चन्दा भन्ने खर्चको शीर्षक नै हुँदैन । धेरै चन्दा दिनुपर्यो भने विद्यालयहरुले बालबालिकासँग नै उठाउने हो ।’’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.