असोज २३, काठमाडौं । नेपालका लागि युरोपियन युनियनका राजदुत वेरोनिका कोडीले नेपालको हवाई यातायातलाई कालोसूचीबाट हटाउन आफूले पहल गर्ने कुरा बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सले मंगलबार राजधानीमा आयोजना गरेको ‘ब्यापार, पर्यटन तथा लगानीको सन्दर्भः नेपाल(युरोपियन युनियन आर्थिक सम्बन्धका सम्भावना’ विषयक अन्तरक्रियामा उनले नेपालको हवाई यातायातलाई सुरक्षित पार्न हवाई क्षेत्रको नीति निर्माण गर्ने र सेवा प्रदान गर्ने निकाय छुट्टाछुट्टै हुनुपर्ने सुझाव दिए । राजदुत कोडीले नेपालको ब्यापार, पर्यटन र लगानीमा विकास गर्न भौतिक पूर्वाधार महत्वपूर्ण हुने कुरामा जोड दिए । रेल मार्ग, सडक मार्ग र जलमार्गको विकासले नेपालको विकासलाई तिब्र बनाउने बिश्वास उहाँले व्यक्त गरे । साथै आफु नेपालसंगको युरोपियन युनियनको सम्बन्ध थप प्रगाढ पार्न कटिबद्द भएर लागि परेको बताए ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल पर्यटन वर्ष २०२० लाई मध्यनजर गर्दै नेपालको हवाई यातायात असुरक्षित रहेको भन्ने कुरामा इयूका देशहरुले चिन्ता नगर्न आग्रह गरे । नेपालको हवाई सुरक्षाको संवेदनशिलतालाई यथार्थपरक ढंगमा बुझिदिन अपिल गरे । श्रेष्ठले नेपालको ब्यापार, पर्यटन र लगानीमा इयूले थप सहयोग गर्ने सहि समय आएको उल्लेख गरे । कार्यक्रममा ब्यापार, पर्यटन र लगानीमा क्रमश ब्यापार तथा निर्यात प्रवर्द्धन केन्ऽका निर्देशक सुरेन् नाथ गोंगल, नेपाल होटल संघका महासचिव विनायक शाह र नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष नरेश श्रेष्ठले अलग अलग कार्यपत्र प्रस्तुत गरेका थिए ।

