विचाराधीन मुद्दामा समाचार नलेख्न आग्रह

असोज २३, काठमाडौं। प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विचाराधीन मुद्दामा समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमसँग आग्रह गर्नुभएको छ ।

संवैधानिक तथा कानून पत्रकार मञ्चले आज बडादशैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा आयोजना गरेको चियापन कार्यक्रममा उहाँले भन्नुभयो, “विचाराधीन मुद्दाका समाचार लेख्नाले न्याय सम्पादन र मानव अधिकारमा समेत क्षति पुगेको हुँदा आगामी दिन यस्ता मुद्दामा समाचार नलेख्न आग्रह गर्छु ।” उहाँले प्रत्येक निकायमा सुधारको आवश्यकता भएको उल्लेख गर्दै न्यायलयभित्र पनि सुधार गरेर अगाडि बढ्न आफू तयार रहेको र त्यसका लागि कानून व्यवसायी र सञ्चारमाध्यमको सहयोगको आवश्यकता भएको बताउनुभयो ।

न्यायलयको सुधार गरी जनतामा न्यायको अनुभूति दिलाउने तरिकाले न्यायलयले काम गरिरहेको समेत स्पष्ट पार्दै प्रधानन्यायाधीश मिश्रले प्रेसलाई आफूले सम्मान गर्ने र न्यायलयमा पनि प्रेसलाई बाटो खुला छ भन्नुभयो । मञ्चका अध्यक्ष लीलाधर उपाध्यायले विगतमा न्यायलयमा धेरै उतार चढाव आउने गरेको स्मरण गराउँदै जनताले न्यायको अनुभूति गर्ने गरी न्याय सम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । चियापन समारोहमा प्रधानन्यायाधीश मिश्रसहित सर्वोच्च अदालतका न्यायाधीश, नेपाल बार एशोसिएनका अध्यक्ष शेरबहादुर केसीलगायत अन्य पदाधिकारी, सर्वोच्च बार एशोसिएनका पदाधिकारी, वरिष्ठ अधिवक्ता, अधिवक्ता र पत्रकारको उपस्थिति थियो । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.