असोज २१, काठमाडौं । पार्टीको आन्तरिक असन्तुष्टि हल गर्नका लागि आज (आइतबार) बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय वैठक स्थगित भएको छ ।
पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समय व्यस्तताको कारण देखाउँदै आज तय गरिएको सचिवालय वैठक स्थगित भएको नेकपाका शीर्ष नेताहरुले जनाएका छन् । वैठक आज दिउँसो ४ बजेका लागि बोलाइएको थियो । स्थगित वैठक भोलि (सोमबार) विहान ८ बजे बस्ने नेकपा स्रोतले जानकारी दिएको छ । पार्टी अध्यक्षद्वय शर्मा र दाहाल आज शुभशंकर कँडेलद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा सहभागी हुनु परेका कारण सचिवालय वैठक स्थगित हुन पुगेको जनाइएको छ ।
पार्टीको आन्तरिक गुनासो, पार्टी सञ्चालनको शैली र सरकारप्रति नागरिकले गर्दै आएको गुनासोका विषयमा छलफल हुने अपेक्षा गरिएको सचिवालय वैठकलाई राजनीति वृत्तमा निकै चासोका साथ हेरिएको थियो । वैठकमा पार्टी सञ्चालन, पार्टी जिम्मेवारी र सरकार सञ्चालनको शैलीप्रति असन्तुष्टि व्यक्त गर्दै आएका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सार्वजनिक रुपमा उठाउँदै आएका गुनासाहरु पनि सम्वोधन हुने अपेक्षा गरिएको थियो ।
नेता नेपालले पार्टी अध्यक्ष केपी ओली केहि दिनअघि अमेरिका भ्रमणमा रहेका बेला भेला आयोजना गरेपछि पार्टीभित्र हलचल ल्याएको थियो । तर, अध्यक्ष ओलीले नेता नेपालले भेला आयोजना गर्नु कुनै नयाँ कुरा नभई यो सामान्य भएको बताएका थिए । उनले पार्टीको आन्तरिक कुरा सहजै मिलाउन सकिने खालको भएको पनि बताएका थिए ।

