चोलेन्द्रशमशेर प्रकरणमा एसएसपी खड्कालाई मानवअधिकार आयोगले बोलायो

असोज १२, काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेट्न नदिएको विषयमा सोधपुछ गर्न राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई बोलाएको छ ।

हिरासतमा राखिएको कार्यालयमा आयोगको टोलीलाई प्रवेश गर्न नदिएको विषयमा सोधपुछ गर्न आयोगले सोमबार प्रहरी प्रधान कार्यालय नक्साललाई पत्र पठाउँदै एसएसपी खड्कालाई मंगलबार आयोगमा उपस्थित गराउन भनेको हो । आयोगकी सदस्य लीली थापाका अनुसार आयोगको निर्णयअनुसार सम्बन्धित प्रहरी कार्यालयका प्रमुखलाई सोधपुछका लागि बोलाइएको हो । आयोगका सहप्रवक्ता श्यामबाबु काफ्लेले पनि एसएसपी खड्कालाई आयोगमा उपस्थित गराउन प्रहरी प्रधान कार्यालयलाई पत्र पठाइएको बताए ।

जबरालाई प्रहरीले आइतबार बिहान करिब ३ बजेतिर बाँसबारीस्थित निवासबाट नियन्त्रणमा लिएको थियो । सुरक्षा थ्रेट रहेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएर टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखेको थियो । आइतबार बिहान उनलाई कार्यालयमा ल्याइएको थियो ।

जबरालाई नियन्त्रणमा लिएको जानकारी पाएपछि मानव अधिकार आयोगको टोली उनलाई भेट्न उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेको थियो । तर प्रहरी कार्यालयले आयोगको टोलीलाई भित्र प्रवेश गर्न र जबरासँग भेट गर्न नदिएपछि प्रहरी कार्यालयबाहिर करिब ३५ मिनेट कुरेर टोली फर्किएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.