असोज २०, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारको प्रतिपक्षी भनेकै गरिबी भएको बताएका छन् ।
कालीकोट जिल्ला समन्वय समितिद्वारा शुक्रबार आयोजित ‘मुख्यमन्त्रीसँग जनप्रतिनिको भेटघाट तथा अन्तरक्रिया’ कार्यक्रममा उनले स्थानीय तथा प्रदेश तहको विकासमा मुख्य बाधक गरिबी नै भएकाले र यसविरुद्ध जुध्नु हामी सबैको साझा दायित्व भएको बताए । मुख्यमन्त्री शाहीले भने, “गरिबी बिरुद्ध लाग्न हरेक नागरिक आत्मनिर्भर बन्ने लक्ष्यका साथ जुट्न जरुरी छ ।” श्रम र मेहनत बिना कुनै पनि समाज, क्षेत्र र देशको विकास नहुने भन्दै उनले मुलुकको विकास नहुनुमा विकासका योजना कार्यान्वयन हुन नसक्नुनै सबैभन्दा ठूलो चुनौती रहेको चर्चा गरे ।
उक्त प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीको विकासका निम्ति सरकार कटिबद्ध भएर लागेको जानकारी दिँदै विकासका सम्भावनाको खानीमा बसेर गरिबीको बिल्ला भिर्नुपर्ने विवशताबाट मुक्ति पाउन कर्णालीवासीले थुपै चुनौतीका पहाड फोड्नुपर्ने र हरेक तहले विकासको महाअभियानमा एकसाथ लाग्नुपर्नेमा जोड दिए । भौतिक पूर्वाधार विकासमन्त्री खड्क खत्रीले संरचनाबिनै सरकार सञ्चालन गर्नुपर्दा अधिकतम् समस्या सामना गर्नु परेको बताए । अन्तक्रियामा कालीकोट जिल्लाका नौवटै स्थानीय सरकारका प्रमुखले सिंहदरबारको अधिकार अहिलेसम्म गाउँमा नआएको र जनशक्ति अभावमा काम गर्नुपरेको गुनासो गरेका थिए ।

