काठमाडौं । अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएपछि मेटाले ठूलो संख्यामा प्रयोगकर्ताहरूको अकाउन्ट हटाएको छ ।
कम्पनीका अनुसार, डिसेम्बरदेखि जुनसम्म १६ वर्षभन्दा कम उमेरका अस्ट्रेलियाली प्रयोगकर्ताले सञ्चालन गरिरहेको आशंका गरिएका साढे सात लाखभन्दा बढी अकाउन्ट हटाइएको छ । हटाइएका अकाउन्टमध्ये इन्स्टाग्रामका ४.६२ लाख र फेसबुकका २.९४ लाख छन् ।
अस्ट्रेलियाली सरकारले बालबालिका तथा किशोरकिशोरीको मानसिक र शारीरिक स्वास्थ्यमा सामाजिक सञ्जालको प्रभावलाई ध्यानमा राख्दै यो कानुन लागु गरेको हो ।
सरकारी तथ्यांक र स्वतन्त्र अध्ययनअनुसार प्रतिबन्ध लागु भएको सुरुआती तीन महिनामा ८० प्रतिशतभन्दा बढी नाबालकले सामाजिक सञ्जाल प्रयोग गरिरहेका थिए ।
यसैबीच, सरकारले नियम पालना नगर्ने कम्पनीलाई अधिकतम ९.९ करोड अस्ट्रेलियाली डलरसम्म जरिबाना गर्ने तथा नियामक निकायको अधिकार बढाउने प्रस्ताव पनि अघि सारेको छ ।
मेटाले कानुन पालना गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरिरहेको जनाएको छ । कम्पनीले प्रयोगकर्ताको प्रोफाइलमा जन्मदिन मनाएको विवरण, विद्यालयको कक्षासँग सम्बन्धित संकेत तथा अन्य सन्दर्भका आधारमा सम्भावित नाबालकका अकाउन्ट पहिचान गरिरहेको छ । हटाइएका अकाउन्ट पुनः खोल्ने प्रयास रोक्न पनि थप उपाय अपनाइएको कम्पनीले जनाएको छ ।
शुक्रबार मेटा, टिकटक, गुगल र स्न्यापच्याटका प्रतिनिधिले यस विषयमा अस्ट्रेलियाली संसदीय छानबिन समितिसामु उपस्थित भएर कानुन पालना गर्न अपनाएका उपायबारे जानकारी दिनेछन् । लाइभमिन्ट

