भट्टराईको असामयिक निधनले काङ्ग्रेस स्तब्ध

साउन २४, काठमाडौं । कोटेश्वर बहुमुखी क्याम्पसका पूर्व स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) सभापति महेन्द्र भट्टराईको असामयिक निधनप्रति नेपाली काङ्ग्रेसले गहिरो दु:ख व्यक्त गरेको छ।

काङ्ग्रेस सभापति गगनकुमार थापाले स्वर्गीय भट्टराईको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

पार्टीले जारी गरेको विज्ञप्तिमा स्वर्गीय भट्टराईले नेपाल विद्यार्थी संघ र नेपाली कांग्रेसको संगठन निर्माण तथा मुलुकको लोकतान्त्रिक आन्दोलनमा उल्लेखनीय योगदान पुर्‍याएको उल्लेख छ ।

२०६५ सालमा कोटेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति रहेका भट्टराईको निधन उनकै जन्मथलो झापाको कमल गाउँपालिका–१ मा भएको कोटेश्वर क्याम्पसका वर्तमान स्ववियु सभापति सञ्जय बुढाथोकीले जानकारी दिए ।

यसैबीच, स्वर्गीय भट्टराईको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम भोलि (श्रावण २५) गते दिउँसो १ बजे कोटेश्वर बहुमुखी क्याम्पसमा आयोजना हुँदै छ ।

स्वतन्त्र विद्यार्थी युनियन कोटेश्वर बहुमुखी क्याम्पस परिवारद्वारा आयोजित उक्त कार्यक्रममा क्याम्पसका पूर्व विद्यार्थी नेता, गुरुवर्ग, पूर्व स्ववियु सभापति तथा पदाधिकारीलगायत अग्रज व्यक्तित्वहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।

कार्यक्रममा स्वर्गीय भट्टराईले विद्यार्थी आन्दोलन तथा क्याम्पसको शैक्षिक एवं सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरिने कोटेश्वर क्याम्पसका स्ववियु सभापति सञ्जय बुढाथोकीले बताए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.