असार २३, काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म नाइमा नेपाल मोबिलिटी एक्स्पो –२०२६ को आयोजना गर्ने भएको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै एक्स्पो सम्बन्धी मुख्य विवरण सार्वजनिक गरेको छ। सञ्चारकर्मीहरू, प्रायोजक तथा साझेदारहरू, प्रदर्शकहरू, बोर्ड सदस्यहरू, सदस्य कम्पनीहरू तथा नेपालको अटोमोबाइल र मोबिलिटी क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय उपस्थितिमा दोस्रो संस्करणको (नाइमा) नेपाल मोबिलिटी एक्स्पोका मुख्य विवरणहरु सोमबार सार्वजनिक गरिएको हो ।
साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ। नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी एक्सपोका रूपमा आयोजना हुने यस प्रदर्शनीमा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च रहनेछन्। एक्सपोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, कमर्सियल भेहिकल, इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी अन्य उत्पादनहरू समेटिनेछन्।
पत्रकार सम्मेलनमा नाइमा अध्यक्ष रितु सिंह वैद्यले नाइमाले एक वर्षअघि नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरू समेट्ने २१ सदस्य कम्पनीबाट सुरु भएको र हाल ३६ प्रमुख सदस्य कम्पनीमा विस्तार भएको जानकारी दिनुभयो । उहाँका अनुसार, यो वृद्धि उद्योग क्षेत्रले नाइमाप्रति देखाएको विश्वास, एकीकृत प्लेटफर्मको आवश्यकता र नेपालको मोबिलिटी क्षेत्रको जिम्मेवार आवाजका रूपमा नाइमाको बढ्दो भूमिकाको स्पष्ट प्रतिबिम्ब हो।

अध्यक्ष वैद्यले नाइमाको दृष्टि “Empowering Growth Through Mobility” र मिसन “Mobility for All” एक्सपोमा मात्र सीमित नभई मोबिलिटी, पहुँच, रोजगारी, उद्यमशीलता, सार्वजनिक सेवा प्रवाह र आर्थिक वृद्धिसँग जोडिएको नाइमाको समग्र कार्यदिशामा प्रतिबिम्बित भएको बताउनुभयो। उहाँले मोबिलिटी सुधारिँदा अवसरहरू विस्तार हुने तथा मानिसका गतिविधि र व्यवसाय सहज रूपमा चलायमान हुन सके देश अघि बढ्ने उल्लेख गर्नुभयो।
उहाँले गत वर्ष नाइमाले मोबिलिटी क्षेत्रको सुधारका लागि निरन्तर वकालत, पहिलो संस्करणको एक्सपो सफलतापूर्वक सम्पन्न, काठमाडौं उपत्यकाका १,६१० ट्राफिक प्रहरी कर्मचारीका लागि क्षमता अभिवृद्धि तालिम सहयोग, हालैका प्रदर्शनका क्रममा गम्भीर क्षति पुगेका कार्यालयहरूको पुनर्निर्माणका लागि आकस्मिक सहयोग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा यातायात व्यवस्था विभागलाई सहयोग लगायतका महत्वपूर्ण कार्य गरेको जानकारी दिनुभयो। साथै, नाइमाले सरकारी निकायहरूसँग सहकार्य गर्दै ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, जनचेतना कार्यक्रम तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा कार्यशालाहरू सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो।

